
भदौ १७, काठमाडौं । शुक्रबारको निर्णयसँगै जनचासो र रूचीको विषय बनेको अन्तर्राष्ट्रिय स्तरको नेपालको पहिलो ‘रियालिटी शो’ नेपाल आइडलको निर्णायक मण्डल विवादमा तानिएको छ ।
विहीबार पर्याप्त भोट माग गरी शुक्रबार चार जना प्रतिस्पर्धी निशान भट्टराई, प्रताप दास, सागर आले र बुद्ध लामा मध्ये एकजनाले नेपाल आइडलको मञ्च छाड्ने प्रचार गरिएको थियो । दर्शकहरू नेपाल अाइडलबाट को बाहिरीने भन्ने निर्णयको प्रतिक्षामा रहेका बेला निर्णायक मण्डलको अधिकारको प्रयोग भन्दै चारैजनालाई सुरक्षित गरिएको निर्णय सुनाएपछि निर्णायक मण्डल विवादमा तानिएको हो ।
‘नेपाल आइडलले छक्का दाऊ हान्यो’, एकजना पत्रकार गोकर्ण गौतमले सामाजिक सञ्जाल फेसबुकमा तत्काल प्रतिक्रिया लेखेका थिए । सामान्यतया यस्तो रियालिट शोहरूमा केही न केही नयाँ गरिने भएपनि नेपाल आइडलले दर्शक र जनताको भोटको अवमूल्यन गरी धेरैलाई मूर्ख बनाएको भन्दै निर्णायक मण्डलको आलोचना भएको हो । ‘तिमिहरू जज रहेनौ, जर्ज बन्यौ’, एकजना गीतकार सविन एकतारेले पनि फेसबुकमा लेखेका छन् । उनको यो व्यंग्यसहितको प्रतिक्रियासहित नेपाल आइडल विवादको घेरामा तानिएको हो ।
हुन त टप ५ प्रस्तुतीसँगै नेपाल आइडल विवादमा नतानिएको होइन । जजहरूले पक्षपाती कुरा गरेको भन्दै त्यसको तिव्र विरोध गतसातादेखि नै भइरहेको थियो । यद्यपि, यसको खण्डन नेपाल आइडलले गरिसकेको थियो । तर, शुक्रबारको प्रशारणसँगै विवादमा तानिएको नेपाल आइडलको निर्णय कति सही कति गलत भनी अहिले सामाजिक सञ्जालमा विरोधाभाष टिप्पणी जारी छन् ।
एउटा नाफामुलक संस्थाले तयार पारेको फर्मेटका आधारमा नै कार्यक्रम चल्छन् । यस्ता रियालिटी शोमा हुने निर्णयहरू यो नयाँ होइन । अमेरिक आइडल र इन्डियन आइडलमा पनि यस्ता अचम्मका निर्णय हुने गरेका थिए । अझ, प्रभावकारी बनाउनका लागि फाइनलको केही नजिकपुग्दै गर्दा मञ्च छाडेर गएका कतिपयलाई वाइल्ड कार्ड इन्ट्रि गराएर ल्याउने चलन छ जसले यस्ता उपाधि नै हात पारिसकेका छन् । अन्तर्राष्ट्रिय प्रविधिसहित त्यहिस्तरको रियालिटी शोले नेपालमा एउटा नविन कलाकारको पहिचानमात्र होइन, नेपाली टेलिभिजन इतिहाँसमै केही नयाँ गर्न खोजेको छ ।
अर्का पत्रकार विराट अनुपमले लेखेका छन्,‘शेरबहादुर देउवाले सप्तकोसी उच्च बाँधको सम्झौता गरेर राष्ट्रघात गर्दा भन्दा नेपाल आइडलले ४ प्रतिस्पर्धीलाइ सिधै ग्रान्ड फिनालेमा लाँदा धेरैको आक्रोश आयो ! अर्थात यो देशमा राष्ट्रघात भन्दा हृदयघात बलियो रैछ!’
नेपाल आइडल निर्णायक मध्ये न्यूह बज्राचार्य र इन्दिरा जोशी बढि विवादमा तानिएका छन् । बज्राचार्यले सवैलाई तिमी भनी गरेको सम्बोधन र जोशीको पक्षपाती निर्णय भन्दै विभिन्न ठाउँमा विरोध भएको थियो । सवैभन्दा बढि प्रतिस्पर्धाको विरोध सामाजिक सञ्जालमा भएको छ । अहिले नेपाल आइडल प्रशारण गर्ने एपी वान टेलिभिजन पनि विवादमा तानिएको छ ।
एकजना टेलिभिजन पत्रकार प्रल्हाद गुरागाइले लामो सामाजिक सञ्जाल सन्देशमा लेखेका छन्,‘नियम आफ्नै होला, त्यसमा भन्नु केही छैन । हो, प्रतिष्पर्धा चार जनाका लागि होला तर मनोरञ्जन आम दर्शकका लागि हो । नेपाल आइडलको आजको निर्णयले टेलिभिजनले बनाएको एउटा उचाईलाई ओझेलमा पारेको छ । दर्शकको भावनालाई ठेस लगाएको छ । दर्शकको एसएसएमबाट प्राप्त हुने रकमलाई आम्दामीको श्रोत बनाएको छ ।’
आफुले गरेको टिप्पणीको बचाऊ गर्दै उनले भनेका छन्,‘एक दर्शकको तवरबाट टेलिभिजनको यो निर्णयप्रति आपत्ति, सायद टेलिभिजनमा आवद्ध हुनेहरूलाई मेरो विचार कटु लागेपनि आम दर्शकलाई भने उचित लाग्न सक्छ ।’
उनले नेपाल आइडलमा देखाइएको विरोधाभाषप्रति आलोचना गर्दै भनेका छन्,‘फेरि पनि…अहिले नेपाल आइडलको रिपिट शो हेदैछु । यो शो रियालिटी शो भन्दा पनि ड्रामा शो जस्तो लाग्यो । किनकी रिमा अनि सुशिल भन्दैछन्, रिजल्ट हाम्रो हातमा आइसक्यो । कार्यक्रमको अन्त्यमा हामी रिजल्टको घोषणा गर्नेछौ । हातमा आएको रिजल्टलाई निर्णायक महोदयले च्यातच्युत गरिदिनु भयो । हाहाहा…..मलाई त चलचित्र दुई रूपैयाको टे«लर जस्तै लाग्यो आजको नेपाल आइडलको श्रृङ्खला । सारंशमा यो रियालिटो शोको पगरी हटाएर नाटकिय शो भने फरक नपर्ला ।’
धेरैले टेलिभिजनले अन्तिम अवस्थामा आएर नेपालीको रकमको दुरूपयोग गरेको जनाउँदै रकमको हिसाब किताब पनि निकालेर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । ‘नेपाल आइडलमा यो हप्ताको भोट संख्या (३७ लाख), शुल्क. ६.२३ रूपैया, यो हप्ताको कुल २ करोड ३० लाख ५१ हजार आधा नाफा जोडेदा १ करोड १५ लाख २५ हजार ५ सय ।’, एकजना दर्शक आश्मा भट्टराईले उल्लेख गरेकी छन् । धेरैले यो भोट जनमत बुझ्न् नभएर गरिब प्रतियोगी आउट गरेर धनि र धनिको सपोर्टको पैसाको खोलो बगाएर कमाउ धन्दा पो रैछ ! भनी टिप्पणी गरेका छन् । )साझा पोष्ट )








