भदौ १५,कलैया । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत बाराको निजगढ नजिक टिपरले एम्बुलेन्सलाई ठक्कर दिँदा एक महिलाको मृत्यु हुनुका साथै अन्य चारजना घाइते भएका छन् ।
निजगढबाट पथलैयातर्फ आउँदै गरेको ना३ख ९२८० नंको टिपरले बिहीबार निजगढ नजिक पर्ने उनासी पुलमा हेटौँडाबाट बिरामी बोकेर कोल्हवीतर्फ जाँदै गरेको ना४च १७७७ नंको एम्बुलेन्सलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा एम्बुलेन्समा सवार कोल्हवी नगरपालिका–२ की ६६ वर्षीया चन्द्रबन्दना मैनालीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ ।
दुर्घटनामा कोल्हवी नगरपालिका–२ का ६७ वर्षीय वासुदेव मैनाली, ३० वर्षीया कमला मैनाली, सिर्जना मैनाली र एम्बुलेन्स चालक हेटौँडा–५ का उद्धव घिमिरे घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि वीरगन्ज पठाइएको छ ।
दुर्घटनामा संलग्न टिपरका चालक फरार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ ।








