भदौ १५, काठमाडौ । बुधबार राति काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा ठूलो चट्याङ परेको छ । मध्यरातमा सबै सुतिरहेको बेला ठूलो आवाजसहित चट्याङ पर्दा धेरैजना डराएर ब्यूझिए पनि ।
मनसुनको समयमा यसरी ठूलो चट्याङ कम मात्रै पर्ने गर्छ । कसैकसैले त बुधबार रातिको चट्याङ निकै डरलाग्दो भएको बताएका छन् ।
तर मौसमविदका सुवास रिमालले अनुसार कमजोर देखिएको मनसुन सक्रिय भएकाले चट्याङ परेको हो ।
मनसुन कमजोर हुँदा पानी कम परेपछि जमिन तात्ने र फेरि सक्रिय हुँदा तातेको जमिनबाट निस्किएको जलवाष्पयुक्त हावा प्रशस्त मात्रामा शक्ति लिएर वायुमण्डलमा धेरै माथि पुग्ने र त्यसलाई सहयोग गर्ने अरु जलवाष्पयुक्त हावा एक आपसमा ठोक्किँदा चट्याङ पर्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार मनसुन सकिन लाग्दा यस्तो हुनु स्वभाविक हो । मध्य मनसुनमा स्थानीय स्तरमा बादल बन्ने क्रम कम हुने भएपनि मनसुनको अन्त्यतिर स्थानीय स्तरमा बनेको बादलको प्रभावले पनि चट्याङ पर्ने उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार अबको केही दिन बुधबार रातिको जस्तो ठूलो गर्जन नभएपनि मेघगर्जन सहित पानी पर्नेछ ।








