भाद्र १३, काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालार्इ गम्भीर अारोप लगाएका छन् । स्वर्गीय मंगलादेवी सिंहको २१ औं स्मृति दिवसको अवसरमा बनेपामा आयोजित एक कार्यक्रममा देउवाका कारण आफ्नो पार्टी पद्धतिविहीन भएको आरोप लगाएका हुन् ।
भारत भ्रमणका क्रममा नेता विमलेन्द्र निधिलाई कार्यवाहक सभापति बनाएर सभापति देउवाले पद्धति मिचेको आरोप कोइरालाले लगाएका हुन् । विमलेन्द्र निधि सिनियर नेता भएपनि उनलार्इ उपसभापति बनाएर मात्रै कार्यवाहक सभापति बनाएको भए कसैको आपत्ति नहुने उनले बताएका छन् ।
वरिष्ठ नेता, महामन्त्री, कोषध्यक्षलाई बाइपास गरी निधिलाई कार्यवहाक बनाउनु गलत भएको उनले दाबी गरे । त्यस्तै सरकारमा रहेको सहयात्री दलका मन्त्रीले मनोमानी गर्दा समेत देउवा चुप लागेर बसेको समेत उनले बताएका थिए । प्रधानमन्त्री नै चुप लागेर बस्ने कार्यले नकरात्मक असर पर्ने उनको भनाइ थियो ।
देउवाले यसपटक पनि सिनियर नेताको सल्लाह र सहभागिताबिना टिकट वितरण गरे तेस्रो चरणको स्थानीय निर्वाचनमा पनि पार्टीले राम्रो नतिजा ल्याउन नसक्ने कोइरालाले बताएका छन् ।
गुटबन्दीका कारण नेपाली काँग्रेस २ वटा पार्टी जस्तो भएको र पार्टी झन कमजोर बनेका कारण पार्टीभित्र घात–अन्तर्घात हुने कार्यमा संलग्नलाई पार्टीले कारवाही गर्नुपर्ने र सामाजिक र राजनीतिक रुपमा बहिष्कार गर्नु पर्ने कोइरालाको भनार्इ छ ।








