भदाै १, नवलपरासी । भारतले बाँधेको बाधका कारण नेपालतर्फको भू–भाग डुबानमा परेको भन्दै नवलपरासी, सुस्तावासीले नेपाल–भारत सिमानाको बाँध भत्काएका छन्। बिहीबार सुस्तावासीले गण्डक नहरका कारण आफ्नो भू–भाग डुबानमा परेको भन्दै भारततर्फ जाने नहरको बाँध भत्काएका हुन्। उनीहरुले बाध्का कारण खेत डुवानमा परेको भन्दै बाँध खनेर पानीको उचित निकास दिन माग समेत गरेका छन्। बिहीबार बाँध भत्काउन पुगेका उनीहरुलाई स्थानीय प्रशासनले रोकेपछि थप आक्रोशित बनेका छन्। स्थानीयबासीले बाँध भत्काउन थालेपछि स्थानीय प्रशासनले रोक लगाएको थियो।
भारतीय नहरका कारण आफ्नो भू–भाग डुबानमा पर्दा पनि स्थानीय प्रशासनले डुबान खुलाउन कुनै पहल नगरेको भन्दै स्थानीयबासी आक्रोशित बनेका हुन्। उनीहरुले तुरुन्त निकास नदिए गण्डकी नहर नै भत्काइदिने चेतावनी दिएका छन्। उनीहरुले आफूहरुको खेतमा जम्मा भएको पानीलाई बाँध खनेर निकास दिनुपर्ने माग राखेका छन्।
प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले स्थानीयले बाँध भत्काएको स्वीकार गर्दै स्थानीय प्रशासनले भारतीय पक्षसँग कुरा गरेर समस्याको समधान निकाल्ने बताए। उनले भारतीय पक्षसँग डुबानका कारण भएको क्षतिपुर्ति उपलव्ध गराउने, नहर सफा गर्ने र नहरको पानीलाई अण्डरग्राउण्ड गरेर लैजाने सहमति भए पनि जानकारी दिए।








