भदौ १, बाग्लुङ । भारतलाई बाँध भत्काउ भन्ने हिम्मत गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेतालाई नेपाली कांग्रेसका युवा नेता एवं पूर्व स्वास्थ्यमन्त्री गगन थापाले चुनाैती दिनुभएको छ । बिहिबार बाग्लुङमा आयोजित कार्यक्रमार्फत नेता थापाले तराई डुबानको समस्या हल गर्न सबै दल र संसद एक ठाउँमा उभिएर भारतलाई बाँध भत्काउ भन्ने हिम्मत गर्नुपर्ने बताउनुभयो ।
उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिले आयोजना गरेको दोस्रो तीज महोत्सवको बिहीबार उद्घाटन गर्दै नेता थापाले भन्नुभयो– ‘‘के कति कारणले तराई डुबानमा परेको छ भन्नेबारे सबै गम्भीर हुन जरुरी छ, भारतले बनाएको बाँधले नेपाल डुबेको हो भन्ने निश्कर्ष हो भने सबै एक ठाउँमा उभिएर भारतलाई बाँध भत्काउ भन्ने हिम्मत गर्नुपर्छ । यसका लागि राष्ट्रिय एकता आवश्यक छ ।’’








