मनसुन अाजदेखि कमजोर बन्दै जाने मौसमविद्हरूको अनुमान

साउन ३०, काठमाडौं । केही दिनदेखि सक्रिय मनसुन सोमबारदेखि कमजोर बन्दै जाने मौसमविद्हरूले बताएका छन् । पूर्वी क्षेत्रमा शुक्रबार र शनिबार सक्रिय मनसुन आइतबारदेखि मध्य तथा पश्चिम भेगमा केन्द्रित भएको छ । मध्य भागको सिमरा, चितवन, नवलपरासी र भैरहवा तथा पश्चिमको दाङ, बर्दिया, बाँके र कञ्चनपुरलगायत क्षेत्रमा आइतबार भीषण पानी परेको छ ।

‘मनसुन आइतबारदेखि मध्य र पश्चिमी भागमा केन्द्रित भएकाले त्यस क्षेत्रका केही स्थानमा ठूलो वर्षा भएको हो,’ मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले भने, ‘सोमबारदेखि मनसुन कमजोर बन्नेछ र केही दिनमै मौसममा सुधार हुनेछ ।’ तर पनि मनसुन अवधि अझै करिब डेढ महिना बाँकी भएको उनले बताए । नेपालमा असोज पहिलो साता (सेप्टेम्बर २३) सम्म मनसुन रहन्छ ।

महाशाखाका अनुसार आइतबार पूर्वी भागमा भने सामान्य वर्षा भएको छ । धनकुटामा २३ र ताप्लेजुङमा १०.८ मिमि मात्र पानी पर्‍यो । मध्यभागको सिमरामा १७३.२ मिमि वर्षा भएको छ । सिमराका साथै चितवन, नवलपरासी, भैरहवा तथा पश्चिमको दाङ, बर्दिया, बाँके, कञ्चनपुरलगायत क्षेत्रमा ठूलो पानी पर्‍यो । आइतबार काठमाडौंमा २६.६, दाङमा १६७.४, भैरहवामा ६७.६, नेपालगन्जमा ७०.२ र वीरेन्द्रनगरमा ६४.३ मिमि वर्षा भएको छ ।

कर्णाली नदी र बबई नदीका विभिन्न जलाधारमा पानीको सतहले खतराको तह नाघेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ । आइतबार बिहानै खतराको तह पार गरेपछि शाखाले स्थानीय बासिन्दालाई सचेत गराउन मोबाइलमा सन्देश पठाएको शाखाका विज्ञ विनोद पराजुलीले बताए ।

बबई नदीको चेपाङ भन्ने स्थानमा खतराको तह ५.५ मिटर भए पनि आइतबार दिनैभर पानीको तह ६.१० मिटरसम्म पुगेको थियो । उक्त क्षेत्रमा २४ घण्टामा ३ सय ६ मिलिमिटर वर्षा भएको थियो । बबईकै रानीजरुवा, तुलसीपुर, पदमपुर, अम्बापुरमा पनि दिनैभर पानीको सतहले खतराको तह पार गर्‍यो । शाखाका अनुसार रानीजरुवामा २६४.४, तुलसीपुरमा २३०.६, पदमपुरमा ३३९.६ र अम्बापुरमा २३५.६ मिलिमिटर वर्षा भएको थियो ।

पश्चिम राप्तीको लमहीमा पनि पानीको सतहले खतराको तह पार गर्‍यो । उक्त क्षेत्रमा २४ घण्टामा २०१.६ मिमि वर्षा भयो । चितवन नारायणीको पूर्वी राप्ती, रिउ खोला/वनकट्टा र गोविन्द बस्तीमा पनि पानीको सतहले खतराको तह पार गर्‍यो । पूर्वी राप्तीमा ३४९.६, रिउखोला/वनकट्टामा २९२.४ र गोविन्दबस्तीमा १४५.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ । ती नदीको पानीले सौरहा डुबाएको थियो ।

मनसुनी न्यून चापीय रेखा नेपालको पहाडी क्षेत्र नजिकै र न्यून चापीय प्रणाली मध्य तथा आसपासका भागमा रहेकाले ती क्षेत्रमा ठूलो वर्षा भएको हो । अाजको कान्तिपुर दैनिकले खबर छापेको छ ।

सम्बन्धित शिर्षकहरु