साउन १७, भक्तपुर । स्थानीय विकास मन्त्रालयले तत्काल निर्वाचित जनप्रतिनिधिले तलब सुविधा लिन नपाउने परिपत्र गरे पनि मध्यपुरथिमि नगरपालिकाकाे गत असार ३० गते सम्पन्न प्रथम नगरसभाले आन्तरिक स्रोतबाट व्यवस्था गर्ने गरी वडा सदस्यलाई समेत मासिक पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको हो ।
उपप्रमुख अञ्जनादेवी मधिकर्मीले प्रमुखको ३५ हजार, उपप्रमुखको ३० हजार ५००, वडाध्यक्षको २५ हजार र कार्यपालिका सदस्यले मासिक १० हजार पारिश्रमिक दिने प्रस्ताव गरे पनि बैठकले सो प्रस्ताव संशोधन गर्दै वडा सदस्यले समेत मासिक पाँच हजार पारिश्रमिक पाउने निर्णय गरेको हो । । त्यसैगरी, निर्वाचित सबै पदाधिकारीले पोशाक भत्ताबापत सात हजार ५०० पाउने निर्णय गरिएको छ ।
नपाको प्रथम नगरसभाले कार्यकारी अधिकृत समेतलाई मासिक १८ हजार प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । कार्यकारीलाई मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेपछि नगरसभामै नपाका कर्मचारीले असन्तुष्टि व्यक्त गरेको थिए । बैठकले कर्मचारीको समेत असन्तुष्टि सम्बोधन गर्दै कार्यसम्पादन मूल्यांकनका आधारमा वार्षिक एक महिना तलब बराबरको प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ । नगरसभाको निर्णयअनुसार वार्षिक रु ७० लाखभन्दा बढी रकम निर्वाचित जनप्रतिनिधिको पारिश्रमिक र कार्यकारी अधिकृतको प्रोत्साहन भत्तामा खर्च हुने भएको छ । मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख र उपप्रमुखले रु ८५ हजार मूल्य पर्ने मोबाइल सुविधामा समेल लिएका छन् ।








