काठमाडौँ, १५ साउन । आगामी डिसेम्बरमा सर्वाधिक पुरस्कार राशि भएको एभरेस्ट प्रिमियर लिग (इपिएल)को दोस्रो संस्करणको खेल आयोजना हुने भएको छ । प्रतियोगितामा काठमाडौँ, ललितपुर, भैरहवा, विराटनगर, वीरगञ्ज र पोखरा गरी ६ टोलीको सहभागिता रहने बतार्इएको छ । प्रतियोगिताको विजेता टोलीले रु २१ लाख प्राप्त गर्नेछन् । यो नेपाली क्रिकेट इतिहासको अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशि हो । प्रतियोगिताको सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ ।
अाज भएको पत्रकारसम्मेलनमा राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा र आयोजक जोहोराका अध्यक्ष अख्तर तथा राष्ट्रिय टोलीका कप्तान पारस खड्काले प्रतियोगिताको नयाँ लोगो सार्वजनिक गर्नुभएको छ । अघिल्लो वर्षदेखि सुरु भएको उक्त प्रतियोगिताको पहिलो उपाधि पञ्चकन्या तेजले जितेर रु पाँच लाख पुरस्कार प्राप्त गरेको थियो । विजेता टोलीले गत वर्ष रु पाँच लाख पुरस्कार प्राप्त गरेको थियो ।








