साउन ११, काठमाडौं। साझा पार्टी र विवेकशील नेपाली दल बुधबार एकता भएको छ । बुधबार राजधानीको नयाँ बानेश्वरस्थित होटलमा दुई पार्टीबीच एकता घोषणा भएको हो।
दुई पार्टीका १७–१७ जना गरी अहिले ३४ जनाको केन्द्रीय कार्यसमिति बनाइएको छ। महाधिवेशन गरेर पार्टीको नेतृत्व चुन्ने घोषणा एकता सभामा गरेको छ। एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ रहने भएको छ। पार्टीको चुनाव चिन्ह ‘तराजु’ राख्ने सहमति समेत भईसकेको छ। विवेकशीलका अध्यक्ष उज्जवल थापा र साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको संयुक्त नेतृत्व पार्टीमा रहने भएको छ। संयोजन समितिमा अन्य सदस्यमा अनुसा थापा, गोविन्द नारायण तिमिल्सिना, निरुपमा यादब, मुमाराम खनाल, रमेश पौड्याल, सूर्यराज आचार्य रहनेछन्।
एकीकृत नयाँ पार्टीको नाम विवेकशील साझा पार्टी तय गरिएको छ। हाल साझा पार्टीले प्रयोग गरिरहेको लोगो तराजु नयाँ पार्टीको चुनाब चिन्ह रहनेछ। बुधबार एकता घोषणा गरिएको पार्टीमा बाँकी २२ जना केन्द्रीय सदस्य बनेका छन्। अब्दुल मिया, अर्जुनसिंह ठकुरी, उमेद पुन, ओम अर्याल, किरणकृष्ण श्रेष्ठ, किशोर थापा, जीवन श्रेष्ठ, दिनेश प्रसाईँ, प्रकाशचन्द्र परियार, पुकार बम, मानवी पौडेल, रन्जु दर्शना न्यौपाने, रमेश महर्जन, राम शाह र रेशु अर्याल विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य बनेका छन्। त्यस्तै शशीविक्रम कार्की, शोभा शाक्य, सरोज धिताल, साधना राई, सुवुना बस्नेत, शोभिता परियार र ज्ञानेन्द्र निरौला पनि पार्टीका केन्द्रीय सदस्य बनेका छन्। ३४ जनाको केन्द्रीय कार्यसमिति भनिए पनि ४ जनाको नाम अझै टुंगो नलागेको सो पार्टीले जनाएको छ।
दुई पार्टीबीच पहिलो चरणको चुनावमा नै काठमाडौं महानगरपालिको मेयर पदका लागि तालमेल हुने र पार्टी एकता हुने भनिएपनि त्यो हुन सकेको थिएन। पहिलो चरणको निर्वाचनमा काठमाडौं र ललितपुर महानगरमा सम्मानजक मत ल्याएका यी दलले दोस्रो चरणको निर्वाचनमा भने नमज्जाले पराजय हात परेको थियो।









