साउन, ६ काठमाडौं – नेपालले सिंगापुरमा जारी आइसीसी यू–१९ विश्वकप क्रिकेट छनोटमा पनि विजयी भएको छ । आयोजक सिंगापुरलाई २२ रनले हराउँदै नेपालले प्रतियोगितामा तेस्रो जित हात पारको हो ।
सिंगापुरको इन्डियन एसोसिएसनको मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले ४६ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर सिंगापुर सामु १६९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
ओपनर रोशन रंगराजन र सिधान्तले पहिलो विकेटको लागि ४० रनको साझेदारी गर्दै सिंगापुरलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । तर, रोशन २३ तथा सिधान्त २५ रनमा आउट भएपछि सिंगापुरको पारी धरासाय बनेको थियो । ओपनरद्वय रोशन र सिधान्त आउट भएपछि क्रिजमा आएका सिंगापुरका हान्सुलदिप सिन्हानियाले ३२, सिन अग्रवालले २१ र युवराज सिंहले १९ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् । सिंगापुरलाई सस्तैमा समेट्न नेपालका कप्तान सन्दिप लामिछानेले ४ तथा पवन शर्राफ र किशोर महतोले समान दुई दुई विकेट झारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ८३ बलमा दुई चौका र दुई छक्काको मद्दतमा ५४ रन बनाए । यस्तै सन्दिप सुनारले २६ तथा प्रकाश केसीले २३ रन बनाए ।
सिंगापुरका बिक्रमवीर विश्वरायले तीन तथा सुनिल आर्यमन र आहन गोपिनाथले दुई दुई विकेट लिए ।
यो जितसँगै नेपालले न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुने गणितीय सम्भावना कायम राखेको छ । तर, बिहिबार टेष्ट राष्ट्र अफगानिस्तानसँगको हारले नेपालको विश्वकप छनोट सम्भावना गणितीय मात्र बाँकी रहेको छ । अब नेपाललाई विश्वकपको यात्रा तय गर्न बाकीँ दुईखेल नै जित्नुपर्ने हुन्छ । नेपालले अब सोमबार मलेसिया र अन्तिम खेलमा अफगानिस्तानसँग खेल्ने छ ।








