साउन ५, काठमाडौं – सिंगापुरमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट छनोटअन्तर्गत एसिया क्षेत्रको छनोटको तेस्रो खेलमा नेपालले अफगानिस्तानसँग लज्जास्पद हार व्यहोरेको छ । बलियो प्रतिद्धन्दी अफगानिस्तानबाट १९१ रनको विजयी लक्ष्य पाएको नेपाले खराव प्रदर्शन गर्दै २६ ओभरमा मात्र ४९ रनमा अलआउट भयो ।
पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको नेपाल २६ ओभरमा अलआउट हुँदै ४९ रनमा समेटियो । बलियो राष्ट्र अफगानिस्तानका बलरसामु नेपाली ब्याट्सम्यान निरिह देखिए । नेपालका पवन शर्राफले बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । पवनले २६ रन जोडे । अफगानिस्तानका कप्तान नभिन उल हकले ह्याट्रिक विकेट लिएपछि नेपालले मात्र १९ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो ।
अफगानिस्तानको राष्ट्रिय टोलीका सदस्य रहेका कप्तान उल हकले आठौं ओभरको चौथो, पाँचौं र छैटौं बलमा विकेट लिँदै ह्याट्रिक विकेट लिएपछि नेपालको ब्याटिङ ध्वस्त भएको थियो । उनले दिपेन्द्र सिंह ऐरीलाई चौथो बलमा आउट गरेका थिए । त्यसपछि पाँचौं बलमा प्रनित थापा मगर र छैटौं बलमा अनिल साहलाई पेभेलियन फर्काएका थिए । दिपेन्द्रले ४ रन जोड्दा प्रनित र अनिल शून्य रनमा आउट भए ।
यस्तै, नेपालका ओपनर आसिफ शेखले ६, सन्दिप सुनारले २ र साहब आलमले १ रन बनाए भने कप्तान सन्दिप लामिछाने र रोहित कुमार पौडेल शून्य रनमा आउट भए । नेपाललाई सस्तैमा समेट्ने क्रममा अफगानिस्तानका कप्तान उल हकले ह्याट्रिकसहित ४ र मुजेब जड्रानले पनि ४ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले पहिलो विकेटको लागि ओपनरद्वय इब्राहिम जाड्रन र नाभिद ओबैडले ७५ रनको साझेदारी गरेका थिए । स्पिनर साहब आलमको बलमा आउट हुनुअघि इब्राहिमले ४१ बलमा ५ चौका एक छक्काको मद्दतमा ४३ रन बनाएका थिए ।
यस्तै पवन शर्राफको बलमा आउट भएका नाभिदले ३३ रन बनाएका थिए । तर, त्यसपछि आएका ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् । अफगानिस्तानका टारिक स्टानिक्जाईले २७, कप्तान नभिन उल हकले २० तथा इमरान मोहमदीले १८ रन जोडे ।
नेपालका लागि आलमले १० ओभरमा ४६ रन खर्चिएर ३ विकेट लिए । त्यस्तै कप्तान सन्दिप र पवनले समान दुई दुई विकेट लिए । सन्दीपले ३० रन खर्चिए भने पवनले १९ रन खर्चिए ।
अफगानिस्तानसँगको खेलमा पराजय बेहोरेसँगै विश्वकपमा छनोट हुने लक्ष्यसहित सिंगापुर पुगेको नेपाली टोलीलाई गम्भीर धक्का लागेको छ । छनोटमा नेपाल तीन खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ । जितसँगै अफगानिस्तान तीन खेलमा ६ अंक जोडेर लिगको शिर्ष स्थानमा छ । अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले चौथो खेलमा शुक्रबार सिंगापुरसँग खेल्ने छ ।
जारी ४ राष्ट्र सम्मलित एसिया क्षेत्रको छनोट डबल राउण्ड रोबिनका आधारमा हुनेछ । छनोटको शिर्ष टोली अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपका लागि छनोट हुनेछन् । नेपालले अहिलेसम्म ७ पटक यु – १९ को विश्वकप खेलिसकेको छ । नेपालले गत वर्ष बंगलादेशमा भएको विश्वकप खेलेको थियो ।








