असार २९, दमौली । दुई सय चौथो भानुजयन्तीका अवसरमा भानु घाँसी स्मारक पार्क संरक्षण समितिद्वारा आज घाँसीकुवामा प्रवचन कार्यक्रमका आयोजना गरेको छ । कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले भानुको बाटो अवलम्बन गर्न सक्नुपर्ने बताउनुभयो । समितिका अध्यक्ष तीर्थराज भट्टराई, पूर्व नगरप्रमुख ताराप्रसाद श्रेष्ठ, एमाले नेता एकबहादुर राना, पूर्वसभासद् उर्मिला थापा, व्यासका अध्येता काशीनाथ न्यौपानेलगायतले भानुभक्तको कृतित्व र व्यक्तित्वका बारेमा चर्चा गर्नुभएको थियो ।
यसैगरी भानु जयन्तीकै अवसरमा आज इटहरी साहित्यक समूहले प्रतिनिधिमूलक छन्दोबद्ध कविता गोष्ठीसँगै साहित्यिक स्रष्टा सम्मान कार्यक्रम गरेको छ । समारोहमा छन्दोबद्ध कवितामा लामो समयदेखि क्रियाशील रोहिणी पराई घिमिरेलाई रु १० हजार एक को पुरस्कार राशी द्वारा सम्मान गरिएको छ । कार्यक्रममा प्रा. डा. वद्रीविशाल पोखरेलले भानुले संस्कृत भाषामा लिखित ‘रामायण’लाई नेपाली भाषामा भावानुवाद गरेर नेपालीलाई ‘रामायण’ पठनमा सहजता प्रदान गर्नुभएकाले उहाँप्रति नेपालीले जहिल्यै सम्मानभाव प्रकट गर्नुपर्ने बताउनु भएको छ ।








