असार २९, काठमाडौं । आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने गरी मुलुकभरका सरकारी कार्यालयले साधारण (चालू) खर्चमा ब्रह्मलुट गरेका छन्।कार्यालय प्रमुख, प्रशासन, लेखा, स्टोरलगायत फाँटका कर्मचारीबीचको मिलेमतोमा साधारण बजेटको अर्बौं रुपैयाँ लुटिएको हो।
विगतमा पनि उच्च सरकारी अधिकारीको गैरजिम्मेवारीका कारण आर्थिक वर्षको अन्त्यमा बजेट रित्याउने काम हुँदैआएको थियो। यस वर्ष असार १७ देखि बजेट रित्याउने काम भएको सरकारी तथ्याङ्कले नै पुष्टि गरेका छन्।
सरकारको लेखा राख्ने जिम्मेवारी पाएको महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आवको सुरुदेखि साधारण बजेट खर्च दैनिक औसतमा १ अर्ब २८ करोड हुँदै आएको थियो। असार १७ देखि भने दैनिक ४–५ अर्ब रुपैयाँसम्म खर्च गरिएको छ।
वर्षको अन्य दिनको तुलनामा असार १७ पछिको खर्च चार–पाँच गुणा बढी हो। महालेखाका अनुसार, असार १७ सम्ममा साधारण बजेटको खर्च चार खर्ब ५२ अर्ब रुपैयाँ भएको थियो । आजको नागरिक दैनिकले समाचार छापेको छ ।








