असार २४, काठमाडौं । सुरक्षा संवेदनशीलतलाई ध्यानमा राखेर सिंहदरबार र राष्ट्रपति भवनका लागि ५ देखि १० मेगावाटसम्मको ‘ब्याट्री स्टोरेज’ राख्ने तयारी भएको छ । सिंहदरबार र राष्ट्रपति भवन जस्ता अति संबेदनशील मानिएका सिंहदरबार र राष्ट्रपति भवनमा पनि प्रसारणलाइनको समस्या र ट्रान्सर्फमर पड्कँदा बेला-बेलामा लाइन जाने गरेको छ । यस्ता संवेदनशील क्षेत्रमा हरेकपल विद्युत् उपलब्ध हुनपर्ने भन्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ५ देखि १० मेगावाटसम्मका ब्याट्री राख्ने योजना बाहिर ल्याउनुभएको हो । शनिबार बानेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ब्याट्री स्टोरेज राख्नको लागि अहिले एसियाली बिकास बैंकसँग छलफल भइरहेको बताउनुभयो । ५ मेगावाटसम्मका ब्याट्री जडान भएसँगै सिंहदरबार र राष्ट्रपति भवनमा विद्युत आपुर्ति टुटेको समयमा पनि जेनेरेटर चलाउन पर्ने बाध्यता हट्नेछ ।
सिंहदरबार र राष्ट्रपति भवनबाहेक एक दूर्गम स्थानको गाउँमा पनि परीक्षणका रुपमा यस्तो खालको ब्याट्री राख्ने योजना रहेको छ । ब्याट्री स्टोरेजमा सयौं मेगावाट बिजुली स्टोर गर्न सकिन्छ । नेपालमा बर्षा यामममा धेरै बिजुली उत्पादन हुँदा खेर जाने गरेकाले प्रोजेक्टमार्फत परीक्षण गरेर ठूला ब्याट्री स्टोरेज राख्ने योजना पनि अघि बढाइने घिसिङले बताउनुभयो ।








