असार २१, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको गोप्य बैठक महाराजगञ्जस्थित महामन्त्री डा.शशांक कोइरालाको निवासमा बसेको छ ।
बुधबार बिहान बसेको पौडेल समूहको बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षाका साथै मन्त्रिमण्डल विस्तारका विषयमा छलफल भएको हो । स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारहरू पराजित भएको भन्दै यो विषयलाई गम्भीर रुपमा उठाउने सहमति भएको छ । आन्तरिक व्यवस्थापन, पार्टीभित्रको विवादले गर्दा र टिकट वितरणमा भएको गडबढीले पराजय भोग्नु परेको पौडेल समूहको ठहर छ ।
बैठकमा मन्त्रिपरिषदमा सहभागी हुने मन्त्रीहरूको नाम पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले माग गरेको अवस्थामा के गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो । सम्मानजनक संख्या नपाए नाम नपठाउने रणनितीमा पौडेल समुह लागेको स्रोतको दावी छ । सो बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व उपसभापति प्रकाशमान सिंह, महामन्त्री डा.शशांक कोइराला, र नेता डा.रामशरण महत,कोषाध्यक्ष सीतादेवी यादवको सहभागिता रहेको थियो ।








