असार १८ । आज बिहान गएको पहिरोले घर बगाउँदा महाशीला गाउँपालिका–१ मा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । साबिकको होस्राङ्दी गाविस–१ बारकुनाका ६३ वर्षीय तीर्थबहादुर मल्ल ठकुरीको घर पहिरोले बगाएको हो । घर बगाउँदा ठकुरीसहित उनकी ८० वर्षीया आमा बेलकुमारी र श्रीमती ५५ वर्षीया यमकुमारीको ज्यान गएको छ । धेरै ठाउँको भेल सडक हुँदै घरभन्दा माथिको खेतमा पसेपछि पहिरो गएको जानकारी प्राप्त भएको छ ।
घटनास्थलमै मृत्यु भएका तीनैजनाको शव परीक्षणका लागि स्याङ्जाको वालिङ लगिएको छ । पहिरोले ठकुरीको घर र गोठसमेत पुरेको छ। पहिरोका कारण ठकुरीका झण्डै एक दर्जन पशुचौपायासमेत मरेका छन् । पहिरोका कारण स्थानीय चन्द्रबहादुर राना, चन्द्रकुमार रानालगायतका पाँच घर जोखिममा परेका छन् । पहिरो प्रभावित गाउँमा विगत केही दिनदेखि विद्युत् सेवा अवरुद्ध भएका कारण सम्पर्कमा समेत कठिनाई भएको छ ।








