असार १३,काठमाडौं । काठमाडौँ महानगरपालिकाले पर्यटकीय महत्व भएका सम्पदामा निःशुल्क इन्टरनेटको सुविधा राख्ने र प्रवेश शुल्कमा तिरेको पैसाले नै उक्त सुविधा पर्यटकहरुले प्रयोग गर्न पाउने व्यवस्था गर्ने भएको छ । पर्यटकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले पर्यटकीय महत्व बोकेका सम्पदामा निःशुल्क इन्टरनेट राख्ने भएको हो । कामनपाका सहप्रवक्ता नवराज ढकालका अनुशार यो कार्यलाइ महानगरले पहिलो प्राथमिकतामा राख्ने छ ।
पहिलो चरणमा भने स्वयम्भू, हनुमानढोका क्षेत्र, पशुपतिनाथ मन्दिर वरपर इन्टरनेट राख्ने तयारी भएको छ । त्यसको लागि महानगरले छिट्टै टेन्डर आह्वान गर्नेछ । त्यसैगरी, कामनपाले बालाजु पार्कमा भने इन्टरनेट राख्नका लागि बोलपत्र आह्वान गरिसकेको र केही समयमा काम सुचारु हुनेछ ।
एक वर्षअघि रत्नपार्कमा इन्टरनेट राखेपछि पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि महानगरले अन्य स्थानमा पनि राख्ने तयारी गरेको हो । इन्टरनेट राख्नु पूर्व रत्नपार्कको आम्दानी वार्षिक रु ५० लाख हुने गरेको थियो । अहिले वार्षिक रु एक करोड आम्दानी हुने गरेको कामनपाको दाबी छ ।








