गलत इन्जेक्सन दिएर बिरामीको ज्यान लिएको भन्दै अस्पताल तोडफोड

असार ७ । भक्तपुर, सामान्य बिरामी भएर उपचार गराउन आएको एक महिलाको अचानक मृत्यू भएको भन्दै मृतकका आफन्तहरुले भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल तोडफोड गरिएको छ ।
दोलखा भीमेश्वर नगरपालिका-५ घर भई हाल गठ्ठाघर बस्दै आएकी ३८ वर्षकी उषा बस्नेतको उपचारको क्रममा मंगलबार राती मृत्यु भएको थियो । यसै विषयलाई लिएर बुधबार अस्पतालमा तोडफोड हुँदा अस्पताल क्षेत्र तनावग्रस्त बनेको हो ।
मृतकका आफन्तले घुम्न निस्किँदा सामान्य छाती दुखेर स्वास्थ्य परीक्षण गर्न आएको बिरामीलाई गलत इन्जेक्सन दिएका कारण ज्यान गएको आरोप पीडित पक्षले लगाएका छन् । मृतककी श्रीमान् रामकृष्ण बस्नेतले भन्नुभयो,हिजो साँझ एकैछिन घुम्न जाउँ भनेर गठ्ठाघरतिर घुम्न निस्किएका थियौँ, उनले छाती दुःखेजस्तो भयो भनेपछि एकपटक चेक गराऔँं भनेर अस्पताल आएका थियौँ, तर अस्पतालकै लापरबाहीका कारण उनको ज्यान गयो।ू

अस्पतालमा परीक्षण गर्दा सबै सामान्य नै भनेर ग्याष्ट्रिक भएर दुखेको हुन सक्ने भन्दै डाक्टरले इन्जेक्सनमार्फत ग्याष्ट्रिकको औषधि दियौँ भनेको केहीबेरमै उषाको ज्यान गएको उनले बताउनु भयो । लापरबाही गर्ने डाक्टर र अस्पताललाई कारबाही हुनुपर्ने पीडित पक्षको माग छ।

आफन्तले मृतकको शव बुझ्न नमानेको र पीडित पक्षका आफन्त भेला भएपछि बुधबार दिउँसो ११ बजे अस्पतालमा तोडफोड भएको थियो।

अस्पतालले हृदयघात (हार्टएट्याक) का कारण बिरामीको मृत्यु भएको दाबी गरेको छ । अस्पतालका निर्देशक सुरेश श्रेष्ठले छाती दुख्यो भनेर आएको बिरामीको उपचारकै क्रममा अचानक एमआई हार्टएट्याक भयो, मुटुरोग विशेषज्ञसहित सात जनाको चिकित्सक टोलीले एकघन्टा लगाएर प्रयास गर्दा पनि बिरामीलाई बचाउन सकिएन।ू

अस्पतालको पक्षबाट कुनै लापरबाही नभएको दाबी गर्दै उहाले अस्पतालको लापरबाहीले बिरामीको ज्यान गएको प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताउनु भयो । मृतक पक्षलाई यसबारे जानकारी गराएको भए पनि बुधबार करिब ११ बजे १०–१२ जनाको समूह आएर एक्कासि तोडफोड गरिएको र उत्रियो, डाक्टर, नर्सदेखि कर्मचारी समेतलाई हातपात गरिएको उहाको भनाई छ ।

अस्पतालको आकस्मिक सेवा (इमरजेन्सी), ओपिडि, नगद काउन्टर, नर्सिङ स्टेसन, क्यान्टिनको सिसा तोडफोड गर्नुका साथै हाजिरी मेसिन, भिजिटर बेञ्च र कम्प्युटर तोडफोड गरेको अस्पतालका निर्देशक श्रेष्ठले बताउनु भयो ।
तोडफोड गर्नेहरुले अस्पतालका डाक्टर, नर्स र कर्मचारीलाई समेत हातपात गरेको बताउँदै उहाले इमरेजन्सी र ओपिडीमा रहेका बिरामीमा केहि बेर भागदौड मच्चिएको बताउनु भयो ।

अस्पतालका निर्देशक श्रेष्ठले अस्पतालको लापरबाहीले बिरामीको ज्यान गएको प्रमाणित भए अस्पताल जस्तोसुकै कारबाही भोग्न तयार रहेको र हैन भने तोडफोड गर्नेमाथि कारबाही हुनुपर्ने बताउनु भयो ।
यता पीडित पक्षले सिसामा सामान्य क्षति भएको र कर्मचारीमाथि हातपात नगरेको दाबी गरेका छन्।

प्रहरीलाई हिजोदेखि नै सुरक्षाको व्यवस्था गरिदिन पटक-पटक आग्रह गर्दा पनि बेवास्ता गरेका कारण अस्पतालमा धेरै क्षति भएको कर्मचारीको गुनासो छ । महानगरीय प्रहरी वृत्त थिमिको टोली नजिकै भए पनि समयमै सुरक्षा नदिएको र तोडफोड सकिएपछि प्रहरी आएको अस्पताल प्रशासनले जनाएको छ।तोडफोडपछि अस्पतालको आकस्मिक कक्ष बन्द रहेको छ ।

 

सम्बन्धित शिर्षकहरु