असार २ । काठमाडौं, २ नम्बर प्रदेशको निर्वाचन स्थगन भएसँगै निर्वाचन आयोगले प्रदेश नम्बर दुईमा खटाएका कर्मचारी फिर्ता बोलाएको छ । आयोगले आठ जिल्लाका लागि खटाएका १ हजार १ सय ५९ कर्मचारी फिर्ता बोलाएको हो । असार १४ गते हुने भनिएको प्रदेश नम्बर दुईको निर्वाचन सरेर असोज २ गतेका लागि तय भएको छ । निर्वाचन आयोगले प्रत्येक तहमा मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा ११ र निर्वाचन अधिकृतको नेतृत्वमा ९ जनाका दरले कर्मचारी खटाएको थियो ।
एक सय २७ स्थानीय तह रहेको मध्ये आठ जिल्लाका आठ जना मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा ८८ जना कर्मचारी खटिएका थिए भने बाँकी एक सय १९ स्थानीय तहमा ९ जनाका दरले एक हजार ७१ जना कर्मचारी खटिएका थिए । आयोगले ती सबै कर्मचरीलाई फिर्ता बोलाउन लागेको छ । थप भत्ता र सुविधासहित पठाइएका ती कर्मचारीको सुविधा भने निर्वाचन नभए पनि कटौती हुनेछैन।








