तेह्रथुमका सबै ठाँउमा एमाले उम्मेदवारहरुको चयन्

असार १ ।तेह्रथुम,जिल्लाका सबै स्थानीय तहमा नेकपा एमालेले आफ्नो उम्मेदवार चयन गर्ने कार्य पुरा गरेको छ । नगरपालिका,चारवटा गाउँपालिका र ४३ वटै वडामा नेकपा एमालेले उम्मेदवारको टुङ्गो लगाएको छ । एकै पदमा पाँचजनासम्म आकाङ्क्षी भएपछि गाउँ, नगर, जिल्ला हुँदै प्रदेश कमिटीसम्मको रस्साकस्सीपछि एमालेले जिल्लैभरिका सबै उम्मेदवारको टुङ्गो लगाएको हो ।

एमालेले पत्रकार सम्मेलन गरेर जिल्लाका सबै स्थानीय तहमा गरी २२६ जना उम्मेदवारको नामावली सार्वजनिक गरेको हो । एमालेले जिल्लाका छवटै प्रमुख पदमा पुरुषमात्रै उम्मेदवार बनाएको छ भने उपप्रमुखमा एक दलित महिलासहित सबै महिला उम्मेदवार चयन गरेको छ । मेन्छ्यायेम गाउँपालिका–१ मा एमालेले दलित महिला सदस्यका लागि उम्मेदवार नपाएपछि खाली राखेको छ ।

एमालेले म्याङ्लुङ नगरपालिकाको प्रमुखमा सञ्जयकुमार तुम्बाहाम्फे, लालीगुराँस नगरपालिकाको प्रमुखमा कमलबहादुर खड्का, आठराई गाउँपालिकाको अध्यक्षमा मानबहादुर लिम्बू ,फेदाप गाउँपालिकाको अध्यक्षमा हरि चोङ्वाङ, मेन्छ्यायेम गाउँपालिकाको अध्यक्षमा यादवबहादुर खापुङ र छथर गाउँपालिकाको अध्यक्षमा सन्तोष तिगेलालाई उम्मेदवार बनाएको छ ।

वडाध्यक्षमा सबै पुरुषमात्रै उम्मेदवार छन् । खुला सदस्यमा पनि तीनजना महिलालाई मात्रै उम्मेदवार बनाएको छ । केही साताअघिसम्म एमालेले पनि साना दलसँग गठबन्धन गर्ने भनिएको भए पनि जित सुनिश्चित भन्दै एमालेले एकल उम्मेदवारी घोषणा गरेको छ ।

सम्बन्धित शिर्षकहरु