राष्ट्रपति भण्डारी स्विट्जरल्यान्ड प्रस्थान गर्दै

जेठ ३० । काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको १०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा भाग लिनको लागि मङ्गलबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।सम्मेलन अन्तर्गत आगामी असार १ गते हुने ‘रोजगारीको विश्वशिखर बैठक’लाई उहाले सम्बोधन गर्नुहुनेछ । यस वर्ष शिखर बैठकको नारा ‘रोजगारीमा महिला’ रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली राजनीतिका साथै रोजगारीको दुनियाँमा महिलाको सहभागिता तथा प्रतिनिधित्वमा भएका प्रगतिका विषयमा उल्लेख गर्दै यस क्षेत्रमा रहेका चुनौती सम्बोधन गर्न भएका प्रयासका विषयमा प्रकाश पार्ने जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनले राष्ट्रपति भण्डारीका साथमा माल्टा तथा मरिससका राष्ट्रप्रमुखहरूलाई पनि सो शिखर बैठकमा सहभागिताका लागि आमन्त्रण गरेको छ । नेपालका राष्ट्रप्रमुखलाई यस्तो शिखर बैठकमा सम्बोधन गर्न श्रम सङ्गठनले आमन्त्रण गरेको यो पहिलो वर्ष हो । नेपाल सन् १९६६ मा यस सङ्गठनको सदस्य बनेको हो ।

श्रम सङ्गठनका महानिर्देशक गाय राइडरले असार १ गते राष्ट्रपति भण्डारीसँग भेट्नाका साथै उहाँको सम्मानमा दिवाभोज आयोजना गर्नुहुनेछ । राष्ट्रपति भण्डारीका सम्मानमा संयुक्त राष्ट्र सङ्घका लागि नेपालका राजदूत तथा स्थायी प्रतिनिधि दीपक धिताल तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनले जेनेभामा स्वागत कार्यक्रम आयोजना गर्नेछन् ।

राष्ट्रपति भण्डारीको टोलीमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपतिका स्वकीय सचिव डा विमला पौडेल राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकृत सहभागी हुने मन्त्रालयले जनाएको छ । सम्मेलन पछि राष्ट्रपति भण्डारी असार ४ गते काठमाडौँ फर्कर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित शिर्षकहरु