विश्व बालश्रम विरुद्धको दिवस यसरी मनाइदै छ

जेठ २९ ।काठमाडौँ,आज १६ औँ विश्व बालश्रम विरुद्धको दिवस ‘द्वन्द्व र विपदमा बालबालिकालाई बालश्रमबाट मुक्त गरौँ’ भन्ने मूल नाराका साथ विश्वभरि मनाइदैछ ।यसै अवसरमा नेपालमा पनि श्रम विभागको नेतृत्वमा आयोजित प्रभातफेरि तीनकुनेबाट सुरू भएर नयाँ बानेश्वार, थापागाउँ हुँदै माइतीघर मण्डलामा पुगी कोणसभामा परिणत भयो ।

विश्व बालश्रम दिवसको अवसरमा आयोजित र्यालीमा सहभागीले ‘बालश्रम अन्त्य गरौँ’, ‘बालबालिकालाई माया गरौँ’ र ‘बालबालिका भविष्यका कर्णधार हुन्’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

विभागका महानिर्देशक भुवन आचार्यले बालश्रम अन्त्यका लागि चेतनामार्फत घरघरबाट सबैले पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

बालश्रमविरुद्धको विश्व दिवसका अवसरमा आज सुनसरीको इटहरीमा केही विद्यालयका बालबालिकाको सहभागितामा प्रभातफेरि कार्यक्रम गरिएको छ । प्रभातफेरिमा सहभागी बालबालिकाले इटहरी उपमहानगरपालिकाका मुख्य बजार क्षेत्रको परिक्रमा गरेको थियो ।

प्लान नेपालको सहयोग तथा जिल्ला बाल क्लब सञ्जाल सुनसरी र जिल्ला बाल कल्याण समिति समेतको सक्रियतामा भएको उक्त प्रभातफेरि कार्यक्रममा सहभागी भएका बालबालिकाले बालश्रमविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्ड र ब्यानर समेत प्रदर्शन गरेका थिए । उनीहरूले ‘द्वन्द्व र विपद्मा परेका बालबालिकालाई बालश्रमबाट संरक्षण गरौँ’लगायतका नारालाई पनि विशेष जोड दिएका थिए ।

बालबालिकाका विषयमा काम गर्दै आउनुभएकी प्लान नेपालकी टङ्कमाया लिम्बूले यो विषयमा सबैले मिलेर काम गर्नुपर्छ भन्नुभयो ।

सम्बन्धित शिर्षकहरु