काठमाडौं जेठ २६- एएफसी एसियन कप छनौट अन्तर्गत नेपालले मंगलबार घरेलु मैदानमा यमनको सामना गर्दैछ । समूह एफमा रहेको नेपालले छनौट अन्तर्गतको दोस्रो खेलमा यमनसँग हल्चोकस्थित सशस्त्र प्रहरीको मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र यमनबिचको खेल दिउँसो ३ बजे शुरु हुने छ । र, नेपाल र यमनबिचको खेलको सम्पूर्ण तयारी सकिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । एन्फाले नेपालविरुद्ध खेल खेल्न यमनको टोली आइतबार नेपाल आउने र म्याच अफिसियल र रेफ्रीहरु भने शनिबार नै नेपाल आइपुग्ने जनाएको छ ।
यस्तै एन्फाले नेपाल र यमनबीचको खेलका लागि ७ सय मात्र टिकट बेच्ने जनाएको छ । सशस्त्र प्रहरीको हल्चोक मैदानमा दर्शक क्षमता कम भएकाले एन्फाले ७ सय वटा मात्र टिकट बिक्रि गर्ने जनाएको हो । एन्फाले टिकटको मूल्य दर १ हजार रुपैयाँ तोकेको छ । र, खेलको टिकट इसेवाको वेवसाइटमार्फत तथा इसेवाका काउन्टरहरुबाट शनिबार बिहान १० बजेदेखि किन्न सकिने जनाएको छ । टिकट खरिद गरेका दर्शकहरुले खेल हेर्न जाँदा अनिवार्य रुपमा आफ्नो परिचय पत्र देखाउनु पर्ने छ। जसको कारण टिकटमा कालोबजारी नहुने एन्फाले जनाएको छ। यसैबीच एन्फा र इ सेवा प्रालिले विभिन्न राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय प्रतियोगिताको टिकटिङको दुई वर्षको सम्झौता गरेको जनाएको छ । सम्झौतासँगै इसेवाले एन्फाले आयोजना गर्ने घरेलु लिग तथा राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगिताको टिकट बेच्ने जिम्मेवारी पाएको छ । एएफसी एसियन कप छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४ – १ ले पराजित भएको थियो । यस्तै यमनले भने ताजकिस्तानलाई २ – १ ले हराएको थियो । होम एण्ड अवेका आधारमा चल्ने छनोटअन्तर्गत नेपालले अब २७ मार्च, २०१८ मा छनोटको अन्तिम खेलमा यमनसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । त्यसअघि नेपालले ५ सेप्टेम्बरमा ताजिकिस्तानसँग पनि घरेलु मैदानमा खेल्दा १० अक्टोबरमा नेपालले ताजिकिस्तानसँग उसैको मैदानमा खेल्नेछ ।
त्यस्तै, नेपालले अर्को बर्षको १४ नोभेम्बरमा घरेलु मैदानमा फिलिपिन्ससँग खेल्नेछन् । एएफसी एसियन कप छनोटमा ग्वामले नखेल्ने भएपछि नेपालले छनोट खेल्ने मौका पाएको हो । ग्वामले छनोटबाट हात झिकेसँगै एसियाली फुटबल महासंघ (एएफसी) ले नेपाललाई मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप जितेको हैसियतमा छनोटमा सहभागिता गराएको हो । समूह चरणको खेलपछि प्रत्येक समूहको शीर्ष दुईमा पर्ने टोलीले दुई वर्षपछि हुने एसियन कपमा सहभागिता जनाउनेछन् ।








