काठमाडौं, २२ वैशाख । प्रमुख प्रतिपक्ष नेकपा एमालेले गरेको नारावाजीका बीच प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावले व्यवस्थापिका–संसद् बैठकमा प्रवेश पाएको छ । सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का २४९ सांसदले प्रधानन्यायाधीश कार्कीका विरुद्ध यही वैशाख १७ गते महाअभियोगको प्रस्ताव व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराएका थिए ।
शुक्रबार बिहान संसदको बैठकमा सभामुख ओनसरी घर्तीले प्रमुख प्रतिपक्षी एमाले सांसदहरुको होहल्लाका बीच प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमाथि सदनको आज दिउँसोको १ बजेदेखि बस्ने बैठकमा छलफल हुने जानकारी गराइन् ।
बिहान १० बजे बोलाइएको सदनको बैठक सवा एक घन्टा ढिलो गरी सुरु हुनेबित्तिकै सभामुख घर्तीले सदनको आजको बैठकको शून्य र विशेष समय हटाइएको जानकारी गराउँदै दैनिक कार्यसूचीमा रहेको महाअभियोगको प्रस्ताव वाचन गरी बैठकमा प्रस्तुत गरेकी थिइन् । सभामुख घर्तीले सो महाअभियोगको प्रस्ताव बैठकमा प्रस्तुत गरिरहँदा एमालेका सांसदहरु आ–आफ्नो आसनबाट उठी सभामुखको अगाडि रोस्टममा होहल्ला गरेका थिए । सदनको बैठक सुरु हुनुअघि सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताको बैठक बसेको थियो । सभामुख घर्तीको पहलमा भएको सो बैठकमा दलहरुका बीचमा कुनै सहमति हुन सकेन । एमालेले प्रधानन्यायाधीश कार्कीविरुद्धमा सत्तारुढ दलद्वारा ल्याइएको महाअभियोग प्रस्ताव फिर्ता लिनुपर्ने अडान राखेको छ ।








