सवारी दुर्घटनामा परी एक युवकको ज्यान गयो

वैशाख १२ । राजविराज,पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कृष्णाराम गाउँपालिका-१ स्थित सीतापुरमा भएको सवारी दुर्घटनामा परी एक युवकको ज्यान गएको छ ।
भ्यान र यात्रुबाहक बस ठोकिँदा भ्यानमा रहेका सोही गाउँपालिका-३ का २५ वर्षीय ओमप्रकाश चौधरीको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख १८२७ नंको यात्रुबाहक बस विपरीत दिशाबाट आउँदै गरेको को १ ज १५५१ नंको भ्यानमा ठोकिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका चौधरीको सप्तरीको ठेलियास्थित धर्मेश्वर अस्पतालमा राति उपचारका क्रममा मृत्यु भएको हो । घटनामा परी सीतापुरकै रवीन्द्र चौधरी घाइते हुनु भएको छ । उहाँको अहिले विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित शिर्षकहरु