काठमाडौं । एमाले स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसिरहेको एमाले स्थायी कमिटीको बैठक स्थानीय निर्वाचनमा केन्द्रित छ ।
एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार स्थानीय तहको निर्वाचनलाई नै लक्षित गरेर बैठकको कार्यसूची तय गरिएको छ ।
बैठकमा उमेदवार छनोटको मापदण्ड, सिफारिस प्रक्रिया, चुनाव परिचालन समिति गठन र घोषणापत्र निर्माणको सन्दर्भमा विशेष गरेर छलफल हुने उनको भनाई थियो ।
त्यस्तै बैठकले गाउँपालिका, नगर, उपमहानगर र महानगरपालिकामा निर्वाचनको तयारीका लागि विशेष कार्ययोजना तयार पार्न लागेको पनि बुझिएको छ । बैठक बिहान ११ बजेदेखि सुरु भएको हो ।








