ब्रिसवेन, अष्ट्रेलिया। डायस्पोरामा राम्रा नेपाली चलचित्रको माग पहिलेको तुलनामा अहिले निकै बढेको छ। त्यसमाथी पनि आफ्नै कला संस्कृति र भुगोललाई प्रतिनिधित्व गर्ने अर्ग्यानिक चलचित्रहरुले यहाँको बजार राम्रै पाउने गरेका छन्। यसै क्रममा फेरि एकपटक निश्चल बस्नेत निर्देशित चलचित्र लुट २ को व्यग्रताका साथ प्रतिक्षा भइरहेको छ।
केहि समय अगाडी ठमेल बजार बोलको गित युट्युवमा सार्वजनिक गरेपछि दर्शकहरुले यस गितलाई मात्र करिब ६१ लाख पटक हेरिसकेका छन्। पहिलो चलचित्रको उध्रेको चोली बोलको गीत सुपरहिट भएपछि निकै दबाबका बिचमा सार्वजनिक गरिएको यस गितलाई पनि दर्शकहरुले निकै माया गरिदिएका छन्।
सामाजीक संजाल युट्युवमा मात्र झण्डै सात लाख पटक हेरीसकिएको लुट २ को ट्रेलर रिलिज भएसँगै अष्ट्रेलियाको क्विन्सल्याण्डका विभिन्न सहरहरुमा यसको प्रदर्शनको मिती तय हुन थालेको छ। सटिक डायलग, चलनचल्तिका लवजहरु अनि अर्ग्यानिक कथा प्रस्तुतिका कारण आफ्नो ब्रान्ड भ्यालु बनाइसकेका निर्देशक निश्चल बस्नेतको यस चलचित्रबाट दर्शकहरुले धेरै नै आशा गरेका छन्।
नेपाली चलचित्रको संकटकाल लगाउने तयारी गर्दै गर्दा पृथक र माटो सुहाउँदो कथालाई उनेर नेपाली दर्शकहरुलाई हलसम्म तान्न सफल लुटको पहिलो सिक्वलको सफलताले हौसिएका यी निर्देशकलाई लुटको दोस्रो सिक्वलसम्म आइपुग्दा दर्शकहरुले अझै आशापूर्वक हेरेका छन्। कथा उन्ने शैलि, त्यसको प्रस्तुती र कलाकारहरुको जोडदार अभिनयलाई पर्दामा उतार्दा यसपाली बस्नेतको चलचित्रले कतिलाई लुट्ने हो त्यो भने हेर्न बाँकी नै छ।
ईभेन्ट एनपिएआइएन(NPAIN) ले ब्रिसवेनमा, अजनेप (OZNEP) ले गोल्डकोष्ट र हिमालयन बीजनेस ग्रुपले तोओम्बामा आफैं प्रदर्शनको तयारी गरेको यस चलचित्रलाई हिमालयन ग्रुपले ब्रिसवेन र गोल्डकोष्टमा ईभेन्ट पार्टनरको रुपमा साथ दिएको छ। फेव्रुअरी २४ मा नेपालमा रिलिज गरिने चलचित्रलाई फेव २७ का दिन ब्रिसवेनमा पहिलो प्रदर्शन गरिने भएको छ।
चलचित्रको प्रदर्शनपछि दर्शकहरुको मागलाई ध्यानमा राखेर अर्को प्रदर्शन मिती तय गरिने भएतापनि फेव २७ का लागी भने हिमालयन बिजनेस ग्रुपको अफिसबाट टिकटको बिक्री सुरु भइसकेको छ। टिकट खरिदका लगी हिमालयन बिजनेस ग्रुपको सिटी अफिस 144 Adelaide Street, Brisbane मा सम्पर्क गर्न सकिनेछ।







