ट्र्याक खुलेको ६० वर्षपछि स्तरोन्नति हुँदै कान्ति लोकपथ

मकवानपुर १३ पुस । ट्र्याक खुलेको ६० वर्षपछि कान्ति लोकपथ सडक विस्तार एवम् स्तरोन्नतिको काम सुरु भएको छ ।

विसं २०१३ मा ट्र्याक खुलेको एक लेनको यो सडकमा २०१६ सालदेखि सवारी सञ्चालन सुरु भएको थियो । ललितपुर र मकवानपुरको सीमास्थित बागमती नदीमा पुल नभएको र कच्ची धुले सडक भएकाले वर्षमा नौ महिनाजति मात्र यो सडकमा सवारी चल्थ्यो । नौ महिना पनि नियमित सवारी नचल्ने गरेको स्थानीयवासीको भनाइ छ ।

नेपाली सेनाले निर्माण गरेको यो राजमार्ग ६० वर्षसम्म ओझेलमा प¥यो । विसं २०५९ मा काठमाडौँ, हेटौँडा जोड्ने छोटो दुरीको यो मार्गलाई वैकल्पिक रुपमा विकास गर्न कोरियाली सरकारको सहयोगमा विस्तृत परियोजना प्रस्ताव तयार गरिएको थियो ।

ललितपुरको चाँपागाउँ दोबाटोबाट मकवानपुरको हेटौँडास्थित बुद्धचोकसम्म ९० किमी दुरीको यो मार्गलाई सरकारले आव २०६५÷६६ देखि कान्ति लोकपथ सडक योजना स्थापना गरी स्तरोन्नति सुरु गरेको हो ।

स्तरोन्नतिको काम सुरु भए पनि प्रभावकारी रुपमा काम हुन नसकेपछि व्यवस्थापिका–संसद्को विकास समितिले २०७१ मा यस मार्गलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए ।

समितिको निर्देशनमा प्राथमिकता प्राप्त योजनाका रुपमा सुरु भएको यो सडक विस्तार एवम् स्तरोन्नतिको अवलोकनका लागि सोमबार मन्त्री र सांसदको टोलीले अनुगमन गरेका छन् । अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, समिति सभापति रवीन्द्र अधिकारी, समितिका सांसद, मन्त्रालयका सचिव धनबहादुर तामाङ र सडक विभाग एवम् योजनाका अधिकारी सम्मिलित समूहको सहभागिता थियो ।

अनुगमनपछि मन्त्री लेखकले आर्थिक, सामाजिक र सांस्कृतिक महत्व बोकेको कान्ति लोकपथ निर्माणमा रकमको अभाव हुन नदिने प्रतिबद्धता जनाए ।

“तोकिएको समयमा काम सक्न विभाग, योजना र निर्माण व्यवसायीले समन्वय गरी काम गर्नुस्, काममा कुनै बाधा व्यवधान आएमा मन्त्रालयले फुकाउनेछ”– स्तरोन्नति तोकिएकै समयमा सक्न निर्देशन दिँदै उनले भने ।

समिति सभापति अधिकारीले दक्षिणकाली, सिस्नेरी–भीमफेदी सडक साँघुरो र त्रिभुवन राजपथमा धेरै चाप हुने समस्यालाई समाधान गर्न कान्ति लोकपथ वैकल्पिक हुने भएकाले छिटो स्तरोन्नति सम्पन्न हुनुपर्ने बताए ।

“लोकपथ विसं २०७५ सम्म पूरा गर्न जिम्मेवार सबै निकायले तोकिएको काम गर्नुपर्छ, यसका लागि आवश्यक समन्वय गर्न समिति तयार छ, पूर्वी एवम् पश्चिम नेपाल र तराईलाई जोड्ने पनि यो मार्ग वैकल्पिक हुनसक्छ, यसले समृद्धिको ढोका खोल्नेछ”–उनले भने।

विसं २०७५ सम्ममा उक्त मार्ग कालोपत्रे गरिसक्ने योजना छ । सडक दुई लेनमा चौडा गर्न मकवानपुरतर्फ करिब रु ८५ करोड र ललितपुरतर्फ रु एक अर्ब १० करोड खर्च लाग्ने लोकपथ योजनाले जनाएको छ ।

ललितपुरको चाँपागाउँ दोबाटोदेखि हेटौँडाको बुद्धचोकसम्म ९० किमी लम्बाई र तीनदेखि पाँच मिटर चौडाई रहेको यो लोकपथलाई विस्तार गरी ८ दशमलव ५ मिटर चौडा गर्ने कार्यक्रम रहेको योजना प्रमुख देवेन्द्र साहले बताए ।

“सडक विस्तार एवम् स्तरोन्नतिका लागि विद्युत् प्राधिकरणका पोल, नेपाल टेलिकमको तार र खानेपानीको पाइप हटाउन समस्या भएको छ, सडक एक लेनबाट दुई लेनमा विस्तार गर्न जग्गा प्राप्ति पनि समस्या बनेको छ”–उनले भने ।

बुद्धचोकदेखि ललितपुरको टीकाभैरव पुलसम्म ७९ किमी सडक चौँडा बनाउन कन्टेक प्रालि, एससिसी मोतिदान जेभी, महालक्ष्मी सिं एन्ड ब्रदर्स जेभी, कञ्चनजङ्गा गोल्डेन ग्रुप र हनुमान कन्स्ट्रक्सनलाई ठेक्का दिइएको छ । टीकाभैरव पुलदेखि चाँपागाउँ दोबाटोसम्म ११ किमी चौंडा गर्ने कार्य सडक डिभिजन कार्यालय ललितपुरले गर्नेछ ।

लोकपथ स्तरोन्ततिका लागि सरकारले अघिल्ला आवमा रु पाँच÷पाँच करोड बजेट छुट्याउँदै आएकोमा चालुु आवमा रु ३९ करोड विनियोजन गरेको छ । यसअघि सरकारले यस योजनामा झन्डै रु ४७ करोड खर्च गरिसकेको छ ।

यो लोकपथलाई दक्षिणकाली, सिस्नेरी, भीमफेदी सडक खण्ड र त्रिभुवन राजपथको विकल्पका रुपमा विकास गर्न लागिएको हो । कान्ति लोकपथको ट्र्याक निर्माण भएको झन्डै ६० वर्षसम्म पनि सरकारको प्राथमिकतामा नपर्दा निर्माण कार्य अघि बढ्न नसकेपनि ढिलै काम सुरु हुँदा खुसी लागेको भट्टेडाँडा–५, छपेलीका फणिन्द्र बजगाइँ बताउँछन् ।

लोकपथ निर्माण भएसँगै ललितपुरका दुर्गम दक्षिणपूर्वी भेग र मकवानपुरको उत्तरपूर्वी भेगका बासिन्दाको जीवनस्तरमा परिवर्तन आउने ललितपुर र मकवानपुरको सीमास्थित भट्टेडाँडा–९ काल्चेखोलाका स्थानीयवासी रामबहादुर थिङको भनाइ छ ।

सडक विस्तारसँगै ललितपुरका झाँक्रीभीर र काल्चेखोलालगायत स्थानमा पहिरो गएको छ । विस्तारमा चट्टानको पहाड आएका स्थानमा काम ढिला भएको योजनाले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु