सप्तरीका पत्रकारको आन्दोलन फिर्ता

राजविराज, २२ मङ्सिर । जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी उपरीक्षक दिवेश लोहनीविरुद्व सप्तरीका पत्रकारले गर्दै आएको आन्दोलन मङ्गलबारदेखि फिर्ता भएको छ ।

प्रहरी उपरीक्षक लोहनी स्वयम् राजविराजस्थित नेपाल पत्रकार महासङ्घको सभाहलमा गएर पत्रकारसँग भएको घटनाप्रति आत्मालोचना गर्दै दुःख प्रकट गर्नु भएको थियो । प्रहरी उपरीक्षक लोहनीले पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताप्रति सदैव प्रतिबद्व रहने र आगामी दिनमा यस्तो घटना नदोहोरिने प्रतिबद्धता जनाएका छन् ।

एसपी लोहनीले महासङ्घको कार्यालयमै गएर घटनाबारे आत्मालोचना गरेपछि नेपाल पत्रकार महासङ्घ, शाखा सप्तरीको मङ्गलबारै बसेको बृहत् बैठकले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको महासङ्घका कार्यबाहक अध्यक्ष श्रवणकुमार देवले जानकारी दिए ।

गत मङ्सिर ११ गते प्रसिद्व योगगुरु बाबा रामदेव सप्तरीको छिन्नमस्ता मन्दिरमा आएका बेला उहाँको समाचार सङ्कलन गर्न गएका नेपाल पत्रकार महासङ्घ शाखा सप्तरीका कार्यसमिति सदस्य चन्दन यादवसहित आधा दर्जन पत्रकारमाथि प्रहरी उपरीक्षक लोहनीले हातपात गर्दै दुव्र्यवहार गरेका थिए ।

पत्रकारलाई हातपात गरेको विरोधमा नेपाल पत्रकार महासङ्घ सप्तरीको अगुवाइमा पत्रकारले गृहमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै ४८ घन्टाभित्र सरुवाको माग गरेका थिए । ज्ञापनपश्चात् पनि सम्बन्धित निकायले कुनै किसिमको ध्यान नदिँदा पत्रकार पछिल्लो एक सातादेखि विभिन्न किसिमको आन्दोलन गर्दै आएका थिए ।

यसैबीच, पत्रकार महासङ्घ सप्तरीको बृहत् बैठकले आन्दोलनमा सहयोग गर्ने सम्पूर्ण सङ्घसंस्थालाई धन्यवाद ज्ञापन गरेको छ ।

सम्बन्धित शिर्षकहरु