पाल्पा। कालीगण्डकी नदी किनारामा पाइने गिद्ध हिजोआज लोप हुँदै गएको छ ।
नदी वारिपारिका किनारामा वासस्थान बनाएर वर्षौंदेखि बस्ने प्रकृतिको कुचिकारका रुपमा चिनिने गिद्ध हिजोआज न्यून मात्रामा भेटिन्छन् । कालीगण्डकीको खैरेनीघाट, रामघाट, पुट्टारघाट, बालीघाटलगायतका विभिन्न घाटमा पाइने गिद्धको संरक्षण नहुँदा लोप हुँदै गएका हुन् ।
कालीनदीको रामघाटमा आजभन्दा १० वर्ष अगाडि ३०० भन्दा बढीको हाराहारीमा गिद्धको वासस्थान थियो । अहिले यस क्षेत्रमा १५ देखि २० को हाराहारीमा रहेको स्थानीय बुद्धिप्रकाश रेग्मीले बताए ।
रामपुर नगरपालिका–१३ को खैरेनी वन क्षेत्रलाई गिद्ध संरक्षण क्षेत्र घोषणा गरे पनि यसको संरक्षण हुन नसक्दा यहाँ पाइने गिद्ध लोप हुँदै गएका छन् ।
पहिले पहिले नदी किनारामा मरेका जीवजन्तु, गाईबस्तु फ्याँक्ने गर्दा गिद्धको ठूलै बथान रहेको र हिजोआज मरेका जीवजन्तु, घरपालुवा जनावर जथाभावी फ्याँक्न छाडेपछि हराउँदै गएको स्थानीय कमलप्रसाद अधिकारीले बताए।
संसारमा २३ प्रजातिका गिद्धमध्ये नेपालमा नौ प्रजातिका गिद्ध पाइए पनि त्यसमध्ये धेरै गिद्ध आहारको कमी, सिमलका रुख विनाश गर्दै जाँदा वासस्थान सङ्कट अवस्थामा रहेको रामपुरका समाजसेवी लेखनाथ शर्मा मरासिनीले बताए ।
नेपालमा सानो, खैरो, डङ्गुर, सुन, सेतो, राजा, हिमाली, हाडफोर, लामो ठुडे प्रजातिका गिद्ध पाइने गर्दछ ।
उत्कृष्ट छ कृषक पुरस्कृत
सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुर, पाल्पाले उत्कृष्ट कृषकलाई पुरस्कृत गरेको छ ।
सहकारीको चौथो साधारणसभाका अवसरमा यहाँका पाँचजना व्यावसायिक अगुवा कृषकलाई शनिबार पुरस्कृत गरिएको हो ।
च्याउ व्यावसायिक कृषक बलबहादुर राना, दुग्ध डेरी फार्म सञ्चालक माधवप्रसाद आचार्य, हरिनाथ ढुङ्गाना र अगुवा कृषक एकराज पङ्गेनीलाई नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
सोही अवसरमा सहकारीले यहाँका आठजना कृषकलाई पशु सुत्केरी पोषण खर्चबापतको रकम पनि वितरण गरेको व्यवस्थापक हरिप्रसाद सिग्देलले बताए।








