हत्या आरोपमा एकजना नेपाली अष्ट्रेलियामा पक्राउ

अस्ट्रेलिया । हत्या अभियोगमा अस्ट्रेलियामा एक नेपाली पुरुष पक्राउ परेका छन् । अष्ट्रेलियाको भिक्टोरियास्थित बालाराटमा रहेको भारतीय रेष्टुरेन्टमा कुकका रुपमा कार्यरत ४९ वर्षीय हरि ढकाल हत्या अभियोगमा पक्राउ परेका हुन् ।

म‌ंगलवार राति साढे आठ बजे प्रहरीले उनलाई उनी कार्यरत होटलबाटै पक्राउ गरेको हो । ढकाललाई बुधवार बिहानै अनुसन्धानका लागि हिरासतमा राख्ने आदेश लिन अदालतमा उपस्थित गराइएको थियो ।

अदालतमा उनले आफूमाथिको अभियोबारे कुनै प्रतिवाद नगरेको बताइएको छ । अदालतमा रहेका बेला धेरै समय टाउको निहुराएर मात्रै बसेका हेराल्ड सनले समाचार छापेको छ ।

अदालतमा उपस्थित गराएपछि न्यायाधीश मेरे रोबर्टसनले उनलाई प्रहरी हिरासतमा राख्ने आदेश दिएका छन् । आगामी मार्च महिनामा उनको मुद्दाको सुनवाई हुने भएएको छ ।

समाचार अनुसार रेष्टुरेन्टमा आएका ग्राहक ३० वर्षीय अब्दुल्लाह सिद्धिकी र उनीबीच विवाद भएपछि त्यही क्रममा हरिले हत्या गरेको बताइएको छ ।

हरिले सिद्धिकिको हत्यामा किचेनमा प्रयोग हुने औजार प्रयोग गरेको पाइएको छ । प्राराम्भीक अनुसन्धानमा यो घटना नियोजित नदेखिएको अस्ट्रेलियन प्रहरीले जनाएको छ ।

राति अबेरसम्म खुल्ने रेष्टुरेन्टमा खाना खाएर सिद्धिकीले पैसा नतिरी जान खोजेपछि झगडा सुरु भएको थियो । हरिमाथि निष्पक्ष छानविन हुनुपर्ने भन्दै भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूतको कार्यालयले कानूनी सहायता उपलब्ध गराउने जनाएको छ ।

भिक्टोरियास्थित महावाणिज्यदूत चन्द्र योञ्जनले घटनाबारे आफूहरुले नजिकबाट नियालिरहेको बताए ।

हरिका वकिल एन्ड्रयू माडेनका अनुसार अष्ट्रेलियामा ढकालका अरु आफन्त छैनन् । उनले सिद्धिकीको हत्या गरिसकेपछि आत्महत्याको पनि कोशिस गरेका खुलेको छ ।

अल्सरका बिरामी ढकाल स्थानीय रिड गेस्ट हाउसमा बस्दै आएका थिए । यो ठाउँ सस्तो आवासका लागि उपयोग छ । यहाँ एक रात बस्दा २० डलर तिर्नुपर्छ ।

सम्बन्धित शिर्षकहरु