अष्ट्रेलियामा नेपाली विद्यार्थीको निधन

पर्थ, अष्ट्रेलियाको पर्थमा उच्च शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थी विराटमान ताम्राकारको मृत्यु भएको छ । काठमाडौंको नरदेवी स्थायी घर भएका ताम्राकार गत बिहीबार विहान काममा जाने क्रममा सडकमा ढलेपछि उपचारका लागि अस्तपताल पुर्याइएको र उनको निधन भएको बताइएको हो ।

पर्थमा रहेको इडिथ कोवान युनिभर्सिटीमा इन्जिनियरिङ बिषय अध्ययन गरिरहेका ताम्राकार करिब डेढ बर्षअघि अष्ट्रेलिया आएका थिए । आएको समयदेखिसँगै बसेका डिल्ली पराजुलीका अनुसार ताम्राकार स्थानीय एक कम्पनीमा कार्यरत थिए । काममा जाने क्रममा स्थानीय सडकमा ढलेका उनलाई तत्कालै उपचारको लागि रोयल पर्थ अस्पतालमा लगिएको र उनको उपचारका क्रममा मृत्यु भएको डाक्टरले बताएका छन् । चिकित्सकहरुले उनको मृत्यु हार्टअर्टयाक अथवा ब्रेन ह्यामरेजका कारण भएको हुनसक्ने अनुमान गरेपनि पोष्टमार्टमको रिपोर्ट आएपछि यथार्थ थाहा हुने बताइएको छ ।

परिवारका एक्ला छोरा ताम्राकार आफ्नो अध्ययनको अन्तिम बर्षमा थिए । उनको शवलाई परिवारको आग्रह अनुसार नेपाल पठाउने तयारी थालिएको पर्थमा रहेको नेपाली एसोसिएसन अफ वेष्टर्न अष्ट्रेलियाका सदस्य कमल सिलवालले जानकारी दिए । सिलवालका अनुसार शव नेपाल पठाउनका लागि करिब १२ हजार ५ सय डलर लाग्ने र उक्त रकम संकलनका लागि विराट ताम्राकार आकस्मिक सहयोग खाता खोलेर रकम संकलन थालिएको छ । पोस्टमार्टमबाट शव आएपछि जतिसक्दो नेपाल पठाइने सिलवालले जानकारी दिए । सहयोगका लागि तलको खाता नम्बरमा सहयोग जम्मा गरिदिन समेत उनले आग्रह गरे ।
नामः नावा च्यारिटी एकाउन्ट
बिएसबि नम्बरः ३०२१६२
एकाउन्ट नम्बरः ०७२४५४५

 

सम्बन्धित शिर्षकहरु