काठमाडौँ,हिन्दू नेपालीहरूको महानचाड बडादशैंको दशौ दिन अर्थात टीकाको दिन ठुलाबढा आफन्तजनहरुको हातबाट टिका थापेर देशभर मनाइदैछ ।
मंगलबार परेको टीकाको दिनको उत्तम साइत मङ्गलबार बिहान ८ बजेर ४५ मिनेटको समयलाई मानिएको छ । तर, दिनभरि नै टीका लगाउन साइत हेरिरहनुपर्दैन ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले टीकाका लागि सो समयमा उत्तम भए पनि आफ्नो अनुकूल समयमा मान्यवरबाट टीका, जमरा, प्रसाद तथा आशीर्वाद लिन कुनै बाधा नहुने बताउनुभयो ।
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा ग्रहण गरेर मनाउने गरिन्छ ।
असत्यमाथि सत्य र आशुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमीको दिनलार्इ बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ ।
जमराले विभिन्न रोगव्याधमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको गौतम बताउँछन् ।
घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी आज मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ ।
आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने प्रचलन छ ।








