काठमाडौँ, सधैंजसो अत्यन्तै भीडभाड रहने राजाधानी काठमाडौ शहर बडादसैंको आगमनसँगै सुनसान बन्दै गएको छ ।
स्थानीय भन्दा विभिन्न बाहिरी जिल्लाहरुका बासिन्दाले खचाखच भरिने यो शहरमा दसैँ मान्नका लागि उपत्यकाबाट लाखौं मानिस बाहिरिएपछी याँहाको जनजीवन सुनसान बन्दै गएको हो ।
दसैँको पहिलो दिन घटस्थापनाका दिनदेखी उपत्यकाका तीनवटै जिल्लाबाट २२ लाखभन्दा बढी मानिस आ-आफ्नो गन्तव्यमा पुगिसकेका छन ।
अाज बडादसैंको महानवमीको दिनसम्म जनसंख्या पातलिएसँगै उपत्यकाका मुख्य बजार तथा पसलहरु बन्द रहेका छन । सडकमा पनि अघिपछिको तुलनामा अत्यन्तै थोरै सङ्ख्यामा सवारी साधन गुडेका छन् ।
त्यसैगरी मानिसको चहलपहल पनि न्यून छ । पर्याप्त सवारी नचल्दा कामकाजी सर्वसाधारण मर्कामा परेका छन् ।
त्यसैगरी ट्याक्सी जस्ता प्राइभेट सवारी साधन पनि थोरै संख्यामा गुडेको देखिन्छ ।
उपत्यका छोड्ने सर्वसाधारण भन्दा पनि विभिन्न बाध्यतामा राजधानीमा रहेका सर्वसाधारणलाई दसैँका बेला सवारी साधन, अत्यावश्यक खाद्य पदार्थ तरकारी आदि सामान किन्न र गन्तव्यमा पुग्न समस्या भएको छ ।
उपत्यकामा यात्रुको सुविधालाई मध्यनजर गरी नेपाल प्रहरी र नेपाली सेनाले विभिन्न रुटमा गाडी सञ्चालन गरिरहेको भएपनि धेरै यात्रुहरुले उक्त्त सवारी साधन उपभोग गर्न पाएका छैनन ।








