काठमाडौं । आधिकारिक ट्रेड युनियनको नेतृत्व कसले लिने भन्ने विवादका कारण एमाले निकट निजामती कर्मचारी संगठनको बैठकमा कुटाकुट भएको छ । संगठनको कार्यालयमा शुक्रबार बसेको बैठकमा केही नेताले संगठनका अध्यक्ष पुण्य ढकालमाथि हातपात गरेपछि बैठक स्थगित गरिएको थियो ।
एक साताअघि सम्पन्न आधिकारिक ट्रेड युनियनको निर्वाचनमा एमाले निकट कर्मचारी संगठन पहिलो हुँदै अत्याधिक स्थानमा विजयी भएको थियो । आधिकारिक ट्रेड युनियनमा जान गुटगत र धेरै आकंक्षी देखिएका कारण बैठकमा कुटाकुट भएको संगठनका एक नेताले बताए ।
एमाले निकट संगठनले आधिकारिक ट्रेड युनियनमा अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्षसहित ११ प्रतिनिधि पाएको छ । अध्यक्षमा को जाने भन्ने गुटबन्दीका कारण एमाले कर्मचारी संगठनमा विवाद उत्पन्न भएका थियो । आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ ।








