एजेन्सी, क्यालीफोर्निया । साबिकको बिजेता चिलीलाई पराजित गर्दै अर्जेन्टिनाले अमेरिकामा जारी कोपा अमेरिका कप फुटबलमा विजयी सुरुवात गरेको छ । मंगलबार विहान भएको खेलमा चिलीलाई २–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले सुखद सुरुवात गरेको हो ।
यो जितसंगै अर्जेन्टिनाले अघिल्लो संस्करणको फाइनलमा ब्यहोरेको हारको बदला समेत लिएको छ । अर्जेन्टिनालाई पेनाल्टी सुट आउटमा पराजित गर्दै चिलीले कोपा अमेरिकोको उपाधि जितेको थियो ।
क्लालिफोर्नियाको लेविस रंगशालामा भएको खेलमा अर्जेन्टिना स्टार स्ट्राइकर लियोनल मेस्सी विना मैदान उत्रिएको थियो । यस्तोमा अर्जेन्टिना र चिलीबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको ८ मिनेट भित्र दुई गोल गर्दै अर्जेन्टिनाले जित निकाल्न सफल भयो । दुवै गोलको लागी एन्जल डि मारियाको प्रमुख भूमिका रह्यो ।
खेलको ५१ औं मिनेटमा मारियाको गोलबाट अर्जेन्टिनाले सुरुवाती अग्रता लियो । त्यसको ८ मिनेटपछि नै मारियाको पासमा बेनेगाले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि खेलको अन्तिम मिनेटमा चिलीका होजे पेड्रो फ्युनजालिडाले गोल गरेपनि हार टार्न सकेन ।
जितसंगै समुह डी मा अर्जेन्टिना समुहको शिर्ष स्थानमा रहेको छ । उसले ३ अंक जोडेको छ । यस समुहमा समान ३ अंक जोडेपनि पानामा दोस्रो स्थानमा छ । मंगलबार बिहान भएकै खेलमा पानामाले बोलिभियालाई २–१ ले पराजित गरेको थियो ।






