काठमाडौं,राजधानीमा आन्दोलन जारी राखेको संघीय गठबन्धनले बिहिबार काठमाडौंको मुख्य नाका कलंकीमा आमसभा सम्पन्न गरेको छ ।
२६ सुत्रिय माग अघि सार्दै जेठ १ गतेदेखि राजधानीमा आन्दोलनरत गठबन्धनले कलंकीको विरोध सभाबाट कडा चेतावनी दिएको छ । विरोध सभालाई सम्बोधन गर्दै गठबन्धनका नेता शरतसिंह भण्डारीले जारी आन्दोलनलाई कमजोर ठान्ने भूल नगर्न सरकारलाई चेतावनी दिए । भण्डारीले मुलुकका सबै उत्पीडित समुदाय मिश्रित यो आन्दोलनलाई बेवास्ता गरे परिणाम ठीक नहुने बताए ।
आन्दोलनरत उत्पीडित जनताको जायज माग सम्बोधन गर्न सरकार अटेरी गरे ओलीको अहङ्कार चूर गर्ने समेत उनले चेतावनी दिए । ‘सरकार थोरै पनि जिम्मेवार र इमान्दार छ भने अबिलम्ब वार्ताको माहोल बनाएर गठबन्धनलाई वार्ताको लागि पत्राचार गरोस्, हामी पनि वार्ता मार्फत् नै समाधान चाहेका हौं’– भण्डारीले भने ।
कार्यक्रमलाई संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादव, संघीय लिम्बूवान पार्टीका अध्यक्ष कुमार लिङ्देन लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
गठबन्धनले राजधानीमा आन्दोलन सुरु गरेको बिहीबार १३ दिन पुगेको छ । चार बजेदेखि कार्यक्रम सुरु भएसँगै कलंकी आसपास क्षेत्र ठप्प भएको थियो ।
यसअघि सिंहदरबार र वालुवाटार घेराऊ पछि गठबन्धनले राजधानीको प्रभावकारी ८ स्थानमा विशाल विरोध प्रदर्शन गरिसकेको छ ।
गठबन्धनमा मधेशी, आदिवासी जनजाति, खस, थारु, दलित, महिला, मगरात, खम्बूवान, लिम्बूवान, नेवाः, शेर्पा लगायतका आबद्ध छन् ।
कार्यक्रमलाई संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय यादव, संघीय लिम्बूवान पार्टीका अध्यक्ष कुमार लिङ्देन लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।








