इतिहासको सबैभन्दा ठूलो मिडिया अनुसन्धान, कर छलीमा चिनियाँ र रुसी राष्ट्रपति, ट्याक्स हेभनमा नेपालका सात लगानीकर्ता

panamapapersकाठमाडौं । व्यापारी मात्र होइन, विश्वका शक्तिशाली नेताहरूले समेत कर छली गर्न र अवैध सम्पत्ति लुकाउन ट्याक्स हेभन करमुक्त क्षेत्रमा कम्पनी खोल्ने गरेको खुलासा भएको छ ।
मध्य अमेरिकी देश पानामामा दर्ता भएको विश्वकै ठूलोमध्येको एक ल फर्म मोस्याक फोन्सेकाबाट चुहिएका अति गोप्य दस्ताबेजबाट यो तथ्य खुलेको हो । यो ल फर्मबाट सेवा लिएका विश्वका दुई लाख कम्पनीसँग सम्बन्धित कागजपत्र सार्वजनिक भएका छन् । यसरी ट्याक्स हेभनमा पैसा लग्नेमा १२ देशका वर्तमान तथा भूतपूर्व राष्ट्रप्रमुखको नाम पनि सार्वजनिक भएको छ । त्यस्तै, राष्ट्रप्रमुख तथा चर्चित नेतासाग सम्बन्धित १४३ जना व्यक्तिले ट्याक्स हेभनमा लगानी गरेको कागजात नै सार्वजनिक भएका छन् । खोज पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल आइसिआइजेले ७६ देशका १०९ समाचार संस्थासँग मिलेर गरेको अनुसन्धानबाट यस्तो तथ्य बाहिर आएको हो ।

के हो ट्याक्स हेभन ?
संसारमा विदेशी नागरिक वा कम्पनीलाई उच्च कर छुट दिने अथवा कर नै नलिने देशहरू पनि छन् । ती देशलाई ‘ट्याक्स हेभन’ भनिन्छ । विश्वका चर्चित ट्याक्स हेभनमा ब्रिटिस भर्जिन आइल्यान्ड, बहमास, पानामा, मरिसस, सेसेल्सलगायतका देश छन् । त्यस्ता देशमा लगानीकर्ताको कारोबार तथा आम्दानीसम्बन्धी सूचना गोप्य राखिन्छ । त्यस्ता देशमा विदेशी नागरिकले खासगरी कर छुटका लागि कम्पनी खोल्ने गर्छन्, जसलाई अफसोर कम्पनी भनिन्छ । यस्तो सुविधा लिनु र कम्पनी खोल्नु आफैमा अपराध मानिंदैन । पानामा पेपर्स काण्डमा उल्लेख गरिएअनुसार अधिकांश व्यक्तिले यस्तै अफसोर कम्पनी खोलेका थिए । तर, उनीहरूले आफ्नो देशमा कमाएको ‘ब्ल्याक मनी’लाई ‘ह्वाइट’ बनाउन ट्याक्स हेभनमा लगेको पुष्टि गर्ने कागजातका कारण यो विषय यति ठूलो समाचार बनेको छ । पानामाको ल फर्म मोस्याक फोन्सेकाले कानुनी सेवा दिएका अधिकांश कम्पनी ब्रिटिस भर्जिन आइल्यान्डका हुन् । अमेरिकी डलर चल्ने ब्रिटिस भर्जिन आइल्यान्डको राष्ट्रिय उद्यम नै यस्तै कम्पनी हुन् । यो देशको जनसंख्या २८ हजार छ । एप्पल, माइक्रोसफ्ट र गुगलजस्ता विश्वका ठूला कम्पनीले पनि कर छल्न आम्दानी रकम ट्याक्स हेभनमा पठाउने गरेको आरोप लाग्दै आएको छ ।

यसरी भयो अनुसन्धान

१ करोड १५ लाख कागजपत्र
पानामाको ल फर्म मोस्याक फोन्सेकासाग रहेका एक करोड १५ लाख दस्ताबेज अज्ञात व्यक्तिले जर्मन पत्रिकालाई पठायो । सो पत्रिकाले यी कागजपत्र खोजपत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल आइसिआइजेलाई ‘सेयर’ गर्‍यो ।

७६ देशका १०९ सञ्चारगृह
वासिङ्टनमा प्रधान कार्यालय रहेको आइसिआइजेले बिबिसी र द गार्जियनलगायत विश्वका ७६ देशका १०९ सञ्चारगृहसागको सहकार्यमा अनुसन्धान अगाडि बढायो । यो अनुसन्धानमा छिमेकी भारतको दैनिक इन्डियन एक्सप्रेस पनि आबद्ध थियो ।

४० वर्षका कागजात, ३७० पत्रकार
१९७७ देखि २०१५ सम्मका यी कागजपत्रमाथि विश्वका ३७० पत्रकारले अनुसन्धान गरे र पहिलो सूचना आइतबार सार्वजनिक भयो । मिडियाको इतिहासमा एउटै विषयमा संगठित रूपमा यति ठूलो अनुसन्धान अहिलेसम्म भएको थिएन ।

को–को मुछिए ?

ट्याक्स हेभनमा कम्पनी दर्ता गर्ने तथा मुद्रा प्रवाह गर्नेमा सबैभन्दा आश्चर्यजनक नाम चिनियाा राष्ट्रपति सी जिनपिङको मानिएको छ । उनले पोलिटब्युरोका शक्तिशाली नेता बो सिलाईलाई भ्रष्टाचारको आरोपमा जेल पठाएर प्रशंसा कमाएका जिनपिङले आफ्नो साला देङ जियागुईको नाममा पैसा लुकाएको आरोप छ । राष्ट्रपति मात्र होइन, चिनियाा कम्युनिस्ट पार्टीका वरिष्ठ पोलिटब्युरो सदस्यले पनि ट्याक्स हेभनमा अफसोर कम्पनी सञ्चालन गरेको कागजपत्र भेटिएका छन् ।

अर्को आश्चर्य रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति पेट्रो पेरोसेन्को नाममा छ । पुटिनको उन्मादी राष्ट्रवाद र पेरोसेन्को देशभक्तिको लडाइाले सन् २०१५ भरि विश्व तताएको थियो । तर, जनता लडाउने दुवैले पैसा भने एकै ठाउामा राखेका रहेछन् । रसियाली राष्ट्रपति पुटिनले आफ्ना सबैभन्दा नजिकका साथी रोल्डुगिनका नाममा रुसी बैंकबाट पैसा अफसोरमा पठाएको रिपोर्टमा उल्लेख छ ।

यसैगरी, बार्सिलोनाका अर्जेन्टाइन स्टार फुटबलर लियोनल मेसीले पनि कर छल्न ट्याक्स हेभन प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ । ट्याक्स छलीको विषयमा उनीविरुद्ध यसअघि नै स्पेनको अदालतमा मुद्दा चलिरहेको छ ।

आइसल्यान्डका प्रधानमन्त्री सिग्मुन्दर डेभिड गनलग्सन, पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ, साउदी अरेबियाका राजा सलमानलगायत पनि यो आरोपमा मुछिएका छन् ।

बलिउड अभिनेता अमिताभ बच्चन र अमिताभकी बुहारी नायिका ऐश्वर्या रायले समेत ट्याक्स हेभनमा लगानी गरेको भेटिएको छ । भारतबाट ५ सयजनाले ट्याक्स हेभनमा पैसा लगेका छन् । भारतीय विदेशमन्त्री अरुण जेट्लीले विदेशमा कालो धन लुकाएका जोकोही पनि कारबाहीमा पर्ने घोषणा गरेका छन् ।

नेपालबाट कसकसको हुनसक्छ लगानी ?
ब्रिटिस भर्जिन आइल्यान्डबाट नेपालको एक सिमेन्ट कम्पनीको नाममा ‘ऋण’ भनेर आएको साढे तीन अर्ब रुपैयाा राष्ट्र बैंकले रोकिरहेको छ । जोधा इन्भेस्टमेन्ट कम्पनीले नेपालको मुक्ति श्री सिमेन्ट उद्योगको नाममा रकम पठाएको थियो । राष्ट्र बैंकले यो विषयमा अन्तिम निर्णय गरेको छैन ।

त्यस्तै, ब्रिटिस भर्जिन आइल्यान्ड र नेपालमा एउटै नाममा दर्ता भएको नेपाल भेन्चर्स कम्पनीले ल्याटिन अमेरिकी देशहरूमा पूर्वाधार निर्माणको काम गर्दछ । ब्रिटिस भर्जिन आइल्यान्डमा दर्ता भएको नेपाल भेन्चर्स कम्पनीका मालिक मार्टिन बेलाउन्द लोसियो र पेरुका राष्ट्रपति ओलान्ता हुमालाको निकट सम्बन्धबारे पेरुका मिडियाले लगातार लेख्दै आएका छन् । नेपाल भेन्चर्स पेरुमा काम गरिरहेको अन्तर्राष्ट्रिय ठूलो कम्पनी मानिन्छ । यता, नेपालमा दर्ता भएको नेपाल भेन्चर्सका लगानीकर्ता एमाले नेता रघुवीर महासेठ हुन् । जसको युनाइटेड टेलिकम युटिएलमा लगानी छ । ट्याक्स हेभनमा कसको पैसा गएको छ भन्ने खुल्न बााकी रहे पनि उताबाट लगानी भने नेपालमा बढिरहेको छ । चीन र भारतपछि सबैभन्दा बढी लगानी प्रतिबद्धता यस्तै देशबाट आएको छ ।

सात नेपाली लगानीकर्ताले फोन्सेकाबाट कानुनी सहायता लिएको प्रारम्भिक जानकारी आए पनि लगानीकर्ताको नाम भने अझै खुलेको छैन । प्रारम्भिक रूपमा सीमित कागजपत्र मात्र सार्वजनिक गरेको आइसिआइजेले क्रमशस् थप कागजात सार्वजनिक गर्ने जनाएको छ ।

तर, राष्ट्र बैंंकलाई जानकारी छैन
आइसिआइजेले खुलासा गरेको प्रतिवेदनमा सातजना नेपालीले समेत ट्याक्स हेभनमा सम्पत्ति लगेको खुलासा गरेको छ ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सम्बन्धित शिर्षकहरु