काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसको नेतृत्वमा देउवा आएलगत्तै ओली सरकारको स्थायित्वमाथि आशंका गर्न थालिएको छ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
देउवा फ्याक्टर
कांग्रेस महाधिवेशन सम्पन्न भएपछि सरकारको विकल्पमा चिया चर्चा सुरु भएको हो । महाधिवेशनले ‘संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमति आवश्यक रहेको र त्यसका लागि कांग्रेस नेतृत्वको सरकार बनाउने एजेन्डा’ पारित गरेको छ । त्यसैले सरकारमा जाने मात्र होइन, त्यसको नेतृत्व गर्ने विषय कांग्रेसले महाधिवेशनबाटै प्रखर रूपमै उठाएको छ । तर, कांग्रेस महाधिवेशनको नीतिले भन्दा पनि सभापतिमा शेरबहादुर देउवाको चयनले सरकार परिवर्तनको विषयलाई बढी बल दिएको हो । सरकार परिवर्तनको खेलमा देउवा पहिलेदेखि नै अभ्यस्त मानिन्छन् । तर, यसपालि उनी बढी धैर्य देखिन्छन् । कांग्रेस संसदीय दलको नेतृत्वका लागि २४ चैतमा चुनाव हुँदै छ । सरकारमा तत्काल दाबी गरे दलको चुनाव बढी पेचिलो हुने र प्रतिउत्पादक हुनसक्नेमा देउवा सतर्क छन् । सरकारबारे कांग्रेसको स्पष्ट धारणा दलको चुनावपछि मात्र आउनेछ ।
ओली–प्रचण्डको मनोविज्ञान
सत्तारुढ दल खासगरी एमाओवादीले राष्ट्रिय सहमतिको सरकारलाई महत्त्व दिइरहेको छ । एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेसको महाधिवेशन अघिदेखि नै सहमतिको सरकार बनाउनुपर्ने प्रस्ताव दोहोर्याइरहेका छन् । तर, सभापतिमा निर्वाचित हुनासाथ देउवाले पहिलो प्रतिक्रिया दिदै भने, ‘तीनवटा ठूलो दल सरकारमा बस्नुहुादैन, कांग्रेस प्रतिपक्षमा बस्छ ।’ तर, कांग्रेस महाधिवेशनपछि प्रधानमन्त्री ओली र एमाओवादीका अध्यक्ष प्रचण्डले सरकार ढल्दैन भनेर दोहोर्याइरहेका छन् । यसको मतलब कतै न कतै उनीहरू राजनीतिक र मनोवैज्ञानिक दबाबमा छन् भन्ने देखिन्छ । त्यसमाथि देउवाका विश्वासपात्र बालकृष्ण खाणले सार्वजनिक रूपमै भनेका छन्, ‘कांग्रेसको नेतृत्वमा संविधान बन्यो, उसकै नेतृत्वमा कार्यान्वयन हुन्छ ।’ तर, संसदीय अंकगणितले भने तत्काल कांग्रेस नेतृत्वको सरकार बन्न कठिन छ ।







