सरकार परिवर्तन गर्दैमा समस्या समाधान हुँदैनः कोषाध्यक्ष यादव

sitadevi-yadavकाठमाडौं । नेपाली कांग्रेसकी नवनिर्वाचित कोषाध्यक्ष सीतादेवी यादवले सरकार परिवर्तन गर्दैमा अहिलेको समस्या समाधान नहुने बताएकी छन ।

रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भनिन, “म सरकार परिवर्तनको खेल बुझ्दिन । सरकार फेरेर मात्रै समस्याको समाधान हुँदैन ।” यद्यपी उनले सरकार परिवर्तनसहित मुलुकको समस्या समाधानको विषयमा आगामी केन्द्रीय कार्यसमितिको बैठकमा छलफल भएर उपयुक्त निर्णय लिने जानकारी दिईन ।

पार्टीको तर्फबाट सरकारको नेतृत्व कस्ले गर्ने भन्ने प्रश्नमा उनले आफूलाई यस विषयमा कुनै जानकारी नभएकोले भन्न नसक्ने स्पष्ट पारिन ।

साक्षात्कारमा कोषाध्यक्ष यादवले आफूले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गर्दै सभापति शेरबहादुर देउवालाई सहयोग गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजाने बताइन ।

मधेसको समस्या कांग्रेस एक्लैले समाधान गर्न नसक्ने भएकोले सबै दलहरुलाई साथमा लिएर समस्या समाधान गर्नु पर्ने भन्दै मधेसको समस्या समाधान गरेर संविधान कार्यान्वयनमा आफूले भूमिका खेल्ने बताईन ।

उनले भनिन, “मधेसमा सीमांकनको समस्या छ । सुशीलदाले नहड्बडाउनुस समस्या समाधान हुन्छ । मधेस, पहाड र हिमाल मिलाएर समस्या समाधान गर्नु पर्छ भन्नु हुन्थ्यो । सबैसँग मिलेर सीमांकन मिलाउनु पर्छ ।”

कोषाध्यक्ष यादवले मधेस काग्रेसको मुटु भएकोले मधेस समस्या समाधानको लागि पहल हुने विश्वास ब्यक्त गर्दै आफ्नो तर्फबाट सक्दो प्रयास हुने प्रतिबद्धता ब्यक्त गरिन ।

उनले आफूले कोषाध्यक्षको रुपमा पार्टीको आर्थिक कारोवारलाई पारदर्शी बनाउने भन्दै आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने गरी आय ब्ययको लेखा राखिने बताइन ।
कोषाध्यक्ष यादवले आफूलाई निर्वाचित गर्ने महाधिवेशन प्रतिनिधिहरूलाई धन्यवाद दिँदै आफूलाई विजयी बनाएर मधेसी, महिला र शहीदप्रति सम्मान ब्यक्त भएको धारणा राखिन।

सम्बन्धित शिर्षकहरु