कांग्रेसमा संस्थापनको नेता को ?

संस्थापनको नेता को भन्ने छलफल प्रारम्भ
nepali-congress2-660x330फागुन ३ । काठमाडौं, महाधिवेशनको मुखमा सभापति सुशील कोइरालाको निधन भएपछि कांग्रेस संस्थापन पक्षको राजनीति ‘मियोविनाका दाइँ’ जस्तो भएको छ । आफ्नो समूहको नेतृत्व कसले गर्ने भन्ने छलफलमा यो समूह लागेको छ । कार्यबाहक सभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला नेतृत्व आफूले गर्नुपर्ने पक्षमा छन् । उनीहरू एक–अर्कालाई स्वीकार गर्ने पक्षमा पनि छैनन् ।
निधन भएकै दिन कोइरालाको कुर्सीमा पौडेल
सुशील कोइरालाको निधनपछि उपसभापति रामचन्द्र पौडेल स्वत: कार्यबाहक सभापति भएका छन् । उनले कोइरालाको निधनलगत्तै गत मंगलबार बिहान बसेको केन्द्रीय कार्यसमिति बैठकमा उनी असहज रूपमा प्रस्तुत भएको टिप्पणी कांग्रेस नेताहरूले गरेका छन् । पार्टी कार्यालयको आागनमा कोइरालाको शव थियो, भित्र बसेको बैठकमा पौडेल सभापतिको कुर्सीमा बस्न हतारिए । सभापतिको नेमप्लेट हटाएर उनी कुर्सीमा बसेपछि सदस्यले असहज माने ।
पदाधिकारी थप्न संस्थापनले बल नगर्ने संकेत
सभापति कोइरालाको निधनपछि कांग्रेसमा पदाधिकारी थप गर्ने विषय नउठ्ने देखिएको छ । संस्थापन पक्षले कार्यसमिति ९७ सदस्यीय बनाउने प्रस्ताव गरे पनि देउवा पक्षले विरोध गर्दै आएको छ । कोइरालाको निधनपछि यो विवाद सेलाउने देखिएको छ । पदाधिकारी नथपिए प्रदेशमा नेतालाई जिम्मेवारी दिएर अघि बढ्ने तयारी संस्थापनको छ ।
उद्घाटन खुलामञ्चमा, बन्दसत्र भृकुटीमण्डपमा
कांग्रेस १३औँ महाधिवेशनको उद्घाटन खुलामञ्चमा हुने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले महाधिवेशन तयारी समितिसँगको छलफलपछि खुलामञ्चमै उद्घाटन गर्ने निर्णय गरेको हो । प्रवक्ता दिलेन्द्रप्रसाद बडूका अनुसार बन्दसत्र भने भृकुटीमण्डपमा हुनेछ । यसअघि दशरथ रंगशालामा उद्घाटन गर्ने गरी बुक गरिएको थियो । १३औँ महाधिवेशन २० देखि २३ फागुनमा हुँदै छ ।
नीति तथा कार्यक्रम : १२ फागुनमा अन्तिम रूप दिइने
पदाधिकारी बैठकले सबै जिल्ला र नेताहरूको सुझाबपछि महाधिवेशनमा प्रस्तुत हुने नीति र कार्यक्रमलाई अन्तिम रूप दिने भएको छ । ‘नीति र कार्यक्रमको ड्राफ्ट सबै जिल्लामा पठाइएको छ, सुझाब आएपछि १२ फागुनमा औपचारिक बैठक बसेर नीति तथा कार्यक्रमलाई पूर्णता दिन्छौँ,’ प्रवक्ता बडूले भने ।
के छ नीति तथा कार्यक्रममा ?
कांग्रेसले संविधान कार्यान्वयनको विषयलाई प्रमुख मुद्दा र नीति बनाउने भएको छ । ‘संविधान जारीपछि पहिलो महाधिवेशन गर्दै छौँ,’ प्रवक्ता दिलेन्द्रप्रसाद बडूले भने, ‘संविधानको सफल कार्यान्वयनबाट मात्रै मुलुकको आर्थिक विकास र समृद्धि हुन्छ । यी एजेन्डालाई कार्यान्वयनमा लैजान कांग्रेस नेतृत्वकै सरकार हुनुपर्छ भन्ने हाम्रो मूल नीति हुनेछ ।’ लोकतान्त्रिक समाजवादउन्मुख आर्थिक कार्यक्रम, छिमेकी भारत र चीनसँग समान सम्बन्धसहितका थप विषयहरू नीति तथा कार्यक्रममा समेटिएका छन् ।

पौडेललाई समूहको नेता बन्न थरी–थरीका चुनौती

महामन्त्री सिंहको बेवास्ता
कार्यवाहक सभापति पौडेल र महामन्त्री प्रकाशमान सिंहले एकअर्कालाई रुचाउादैनन् । त्यसको संकेत कोइरालाको निधन भएको तेस्रो दिन नै देखियो । महारागजन्जस्थित कोइराला निवास पुगेर पौडेलले किरिया बसेका भतिजाद्वय अतुल र सुधांशु भेटे । अनि बिपीपुत्र शशांकसँग आधा घन्टा छलफल गरेर आागनमा आए । त्यहीवेला त्यहाा पुगेका महामन्त्री सिंहलाई पौडेलले ‘प्रकाशजी’ भनेर बोलाए । तर, सिंहले सुनेको नसुनेझौ गरेर भित्र पसे । गणेशमान पुत्रको विरासत बोकेका महामन्त्री सिंहलाई सहमतिमा लिनुपर्ने पौडेलको पहिलो चुनौती छ ।
सिटौला पनि प्रतिस्पर्धामा
मनोनित महामन्त्री कृष्ण सिटौलाले सभापतिको उमेद्वारी नै घोषणा गरिसकेका छन् । गिरिजाप्रसाद र सुशीलले पनि सबैभन्दा विश्वास गर्ने भएकाले पौडेलभन्दा आफू नै संस्थापनको नेता बन्न योग्य रहेको सिटौलाका दाबी छ । उनलाई विश्वासमा लिएर अघि बढ्नु पौडेलको अर्काे चुनौती छ ।
शशांक र सुजाता मिलाउनुपर्ने
पौडेलसमक्ष कोइराला खानदानकै शशांक र सुजातालाई मिलाउनुपर्ने चुनौती पनि छ । शनिबार शशांकको महाराजगञ्जस्थित निवासमा संस्थापन पक्षका नेताहरूको छलफल हुने तयारी भएपछि त्यही रहेकी सृजता बैठकमा भाग नलिइ बाहिरिएकी थिइन् । उनले सभापतिको दाबी प्रस्तुत गरेकी छिन् ।
दबाब बढाउँदै महत
डा. रामशरण महतले पनि सभापतिका लागि दाबी गर्दै आएका छन् । उनले हालै ‘शीर्ष तीन नेताले राजनीतिबाट विश्राम लिई दोस्रो पुस्ताका लागि बाटो खोलिदिनुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । उनी पनि पदाधिकारीका दाबेदार हुन् ।
संस्थापनलाई सजिलो–अप्ठ्यारो
अधिवेशनको नतिजा आएका जिल्लाका अधिकांश सभापति संस्थापन पक्षका छन् । सुशील कोइराला बितेपछि भावनात्मक रूपमा एक भएर उभिनुपर्ने नेता कार्यकर्ताको दबाब छ, नेताहरू मिले त्यसको फाइदा पनि हुन सक्छ ।
देउवा खेमाको जस्तो एउटै नेता सभापतिको साझा उम्मेदवार छान्न सकस छ । कार्यबाहक सभापति पौडेल, महामन्त्रीद्वय सिंह र सिटौला, कोइराला खानदानका सुजाता, शेखर र शशांक तथा डा. रामशरण महत, अर्जुननरसिंह केसी, गगन थापासहितलाई साथमा लिएर अघि बढ्न चुनौतीपूर्ण छ । सभापतिमा पौडेल अघि सारिए महामन्त्रीद्वयलाई समेट्न अप्ठ्यारो छ ।
भावनात्मक एकता हुने दाबी
कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले सुशील कोइरालाको अनुपस्थितिमा संस्थापनमा भावनात्मक एकता हुने दाबी गरे । ‘सुशील’दाको अनुपस्थितिमा भावनात्मक एकता भए मात्र थप सुदृढ र बलियो हुन सक्छौँ भन्ने बोध सबैलाई भएको छ, आकांक्षा धेरैमा छ, तर पार्टी र सरकार चलाउनेसम्मको जिम्मेवारी बाँडबाँड गरेर मिलाउन सकिन्छ,’ उनले भने ।

देउवा समूहका एक्ला दाबेदार, तर सजिलो छैन

संस्थापनमा मियो नेताको अभाव देखिँदै गर्दा अर्को पक्षमा नेता शेरबहादुर देउवा सभापतिका एक्लो दाबेदार छन् । गिरिजाप्रसाद र सुशील कोइरालासाग भिड्दै आएका देउवा १३औा महाधिवेशनमा पनि उमेद्वार बन्दै छन् । गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, डा.प्रकाशशरण महत, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउदलगायतका नेताहरूको उनलाई सदाबहार साथ छ ।
बहुमत पुग्ने आँकलन
देउवापक्षीय नेता प्रकाशशरण महतले क्षेत्रीय अधिवेशनपछि आफ्नो पक्षमा बहुमत पुग्ने दाबी गरे । ‘१३औँ महाधिवेशनमा हाम्रो राम्रो हुने देखियो,’ उनले भने, ‘सुधार देखिएको छ, बाहिर देखिएभन्दा पनि नतिजा राम्रो रहेको आन्तरिक मूल्यांकन गरेका छौा, महाधिवेशनमा हाम्रो पक्षमा सहज बहुमत आउने देखिएको छ ।’
संस्थापन पक्षका नेता आफूतिर तान्ने रणनीतिमा देउवा
संस्थापन पक्षमा देखिएको खिचातानीको फाइदा उठाउँदै देउवा पक्ष उनीहरूलाई आफूतिर तान्ने रणनीतिमा छ । कोइरालाको निधनपछि देउवालाई त्यसका लागि सजिलो पनि भएको छ । ‘विभिन्न नेतासँग कुराकानी भइरहेका छन्, शेरबहादुर दाइले आफैँ कुरा गरिरहनुभएको छ,’ महतले भने, ‘अवश्य पनि उहााको नेतृत्वमा जानुपर्छ भन्ने दृष्टिकोण विकसित भएको छ, संस्थापनबाट नेता आउनुहुन्छ ।’
देउवालाई सजिलो र अप्ठ्यारो
देउवा पक्षमा महामन्त्रीका लागि विमलेन्द्र निधि र खुमबहादुर खड्का अगाडि देखिएका छन् । तर, उनीहरू दुवै देउवाले भन्दा मान्ने अवस्थामा रहेको एक नेताले बताए । ‘उहाँहरू दुवै महामन्त्रीको दाबेदार हुनुहुन्छ, तर देउवाले जित्ने सर्तमा उहाँहरू त्याग गर्न तयार हुनुभएको छ,’ देउवानिकट ती नेताको दाबी छ, ‘देउवाजी जितेपछि उहाँहरू दुवैलाई म्यानेज गर्ने गरी कुरा अघि बढेको छ ।’
खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, डा. प्रकाशशरण महतलगायतका नेतालाई पदाधिकारीमा समेट्न देउवालाई चुनौती छ । संस्थापन पक्षबाट कुनै नेतालाई आफ्नो खेमामा तानेर महामन्त्रीको उम्मेदवार बनाउँदा सन्तुलन खलबलिन सक्ने चिन्ता देउवालाई छ ।

सम्बन्धित शिर्षकहरु