किन आउँदैछन् फ्रान्सेली राष्ट्रपति अल्याण्ड भारत ?

नयाँ दिल्ली, फ्रान्सेली राष्ट्रपति फासाँ अल्याण्डले भारतले फ्रान्ससँग किन्ने भनेको जेट विमानको खरिदका लागि आवश्यक सम्झौता गर्न समय लाग्ने बताएका छन्।

भारतले फ्रान्ससँग ३६ वटा नयाँ युद्धक विमान किन्ने विषयमा वार्ता सुरु गरेको थियो । तर पनि ती विमान किन्ने अन्तिम सम्झौताका लागि भने समय लाग्ने जानकारी उनले दिएका हुन् ।

उनी आइतबारै भारतको तीन दिने भ्रमणका लागि नयाँ दिल्ली आउदै छन् । नयाँ दिल्ली आउनुअघि भारतीय समाचार समिति, प्रेस ट्रष्ट अफ इन्डियालाई दिनुभएको अन्तरवार्तामा सो धारणा राखेका हुन् ।

उनले भने एक चरणको प्रक्रिया सुरु भएको हो र प्राविधिक रुपमा काम सम्पन्न हुन समय लाग्छ । तर प्रक्रिया भने पछि नहटेको उनले जानकारी दिए ।

साथै राष्ट्रपति अल्याण्डले ती विमान किन्ने विषयमा कुराकानी भइरहेको भएपनि पछिल्लो समयमा प्रगति भने हुन नसकिरहेको पनि जानकारी दिए।

राष्ट्रपति अल्याण्ड आगामी जनवरी २६ मा मनाइने भारतीय स्वतन्त्रता दिवसमा प्रमुख आतिथ्यताका लागि आइतबारै भारत आइपुग्ने जनाइएको छ ।

भारतले मनाउने यस दिवसमा प्रत्येक वर्ष विभिन्न विदेशी नेताहरुलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्ने गर्छ । यस पटक उनलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष फ्रान्सको राजधानी पेरिसमा भारतले फ्रान्ससँग अत्याधुनिक जेट किन्न चाहेको जानकारी दिएका थिए ।

उनले भारतले आफ्नो सैनिक संगठनलाई छिमेकी देशहरु पाकिस्तान र चीनको तुलनामा बलियो र अत्याधुनिक बनाउन चाहेकोले ती लडाकू बिमानहरु किन्न लागेको जानकारी दिएका थिए ।

यस नयाँ सम्झौताका कारण फ्रान्स र भारतबीचको सम्बन्धमा आगामी कैयौँ वर्षसम्मका लागि प्रगाढ हुने विश्वास लिइएको धारणा पनि राखेका थिए ।

सुरक्षामा कडाई
यसैबीच प्राप्त अर्को एक समाचारअनुसार भारतमा यही जनवरी २६ मा आयोजना गरिने गणतन्त्र दिवस विशेष समारोहलाई मध्यनजर गरी सुरक्षा व्यवस्थामा निकै कडाई गरिएको समाचारमा जनाइएको छ ।

हरेक वर्ष भारतमा मनाइने यस गणतन्त्र दिवसको कार्यक्रममा आतङ्ककारी आक्रमण हुनसक्ने भन्दै सुरक्षामा कडाई गर्ने गरिएको हो ।

सोही समारोहलाई लक्ष्यगरी सुरक्षामा कडाई गरिएको भारतीय अधिकारीहरुले जनाएका छन् । सो समारोहमा सहभागी हुन आउने विदेशी व्यक्तित्व एवम् देशका प्रमुख व्यक्तिहरूको सहभागितालाई मध्यनजर गरी विशेष सुरक्षा व्यवस्था अपनाउने गरिन्छ ।

नयाँ दिल्लीलगायत विभिन्न प्रमुख सहरमा राष्ट्रिय अनुसन्धान निकाय, नेसनल इन्भेस्टिगेसन एजेन्सीले देशव्यापी रूपमा सुरक्षाको कडा प्रबन्ध गरेको जनाएको हो ।

देशमा प्रजातान्त्रिक संविधान जारी भएपछि सन् १९५० देखि भारतले गणतन्त्र दिवस मनाउन थालेको हो ।

सम्बन्धित शिर्षकहरु