ओली र मधेसी नेताको प्रतिष्ठाको लडाइँमा तीन सर्वसाधारणको ज्यान गयो
घटनाको पृष्ठभूमि १
केपी ओली र राजेन्द्र महतोबीच एक वर्षदेखि वाक्युद्ध चलिरहेको थियो । जोगबनी नाकामा प्रहरी कारबाहीमा घाइते भएका महतो उच्च रक्तचापको समेत दबाबमा परेपछि दिल्लीमा उपचार गर्न गएका थिए । राजेन्द्र महतोको विषयमा देशले त्यति धेरै ध्यान दिएको थिएन । प्रधानमन्त्री केपी ओलीले सीधै फोन गरेर वार्ताका लागि काठमाडौं आउन आग्रह गरे । तर, उनकै युवा संघले भने विमानस्थलमा कालो झन्डा देखाएर प्रचार–प्रसार बटुल्ने कोसिस गर्यो । विमानस्थलमा एमाले युवा संघको कालो झन्डा हेरेर बालुवाटार पुगेका महतोलाई ओलीले भव्य स्वागत गरे । उनीहरूबीच परिवार र स्वास्थ्यका विषयमा अन्तरंग कुराकानी पनि भयो ।
घटनाको पृष्ठभूमि २
-प्रधानमन्त्री केपी ओली, सत्तारुढ दल एमाओवादी र प्रमुख प्रतिपक्षी कांग्रेसले मधेसको मुद्दालाई राजनीतिक भन्दै दिनदिनै बालुवाटारमा वार्ता गरिरहेका छन् । तर, एमालेको युवा संघले भने मधेस आन्दोलनको एक मात्र शिखर पात्रका रूपमा राजेन्द्र महतोलाई प्रस्तुत गर्यो । महतोलाई देखाउन भन्दै युवा संघले मोरङको रंगेलीमा कार्यक्रम आयोजना गर्यो, जसको प्रमुख अतिथि प्रधानमन्त्री केपी ओली हुनेछन् भनेर प्रचार गरियो ।
-केन्द्रमा वार्ता चलिरहेको वेलामा ओलीलाई ल्याएर आमसभा गर्ने थाहा पाएपछि मधेसी मोर्चा कार्यकर्ताले आफूहरूलाई चुनौती दिन खोजेको भन्दै विरोध गरेका थिए । उनीहरूले आमसभा नगर्न र गरेमा बिथोलिदिने चेतावनी दिएका थिए । तर, युवा संघका नेता पर्शुराम बस्नेत, जिल्ला अध्यक्ष मुकेश बुढाथोकीसहितको टोलीले जसरी भए पनि कार्यक्रम गरेरै छाड्ने भन्दै प्रचारप्रसार तीव्र बनाएका थिए ।
-युवा संघले बिहीबार गर्न लागेको आमसभा विफल पार्न मोर्चा कार्यकर्ताले रंगेली बजार दुई दिनका लागि बन्द गराएका थिए । दोहोरो झडपको आशंकाले रंगेली बुधबारदेखि नै तनावपूर्ण बनेको थियो । स्थानीय बासिन्दा त्रसित थिए ।
बिहीबार के भयो ?
-प्रधानमन्त्री ओलीकै उपस्थितिमा रंगेलीमा कार्यक्रम हुने भनेर व्यापक प्रचार गरिएको थियो । प्रमुख दल र मधेसीको वार्ता सहमतिमा नपुगेसम्म प्रधानमन्त्रीलाई मधेसमा कार्यक्रम गर्न नदिने भन्दै मोर्चाका कार्यकर्ताले कार्यक्रम बिथोल्ने चेतावनी दिइरहेका थिए । यसैबीच उनीहरूले कार्यक्रमकै दिन आमहडताल आह्वान गरेका थिए ।
-बिहीबार बिहानसम्म पनि प्रधानमन्त्री ओली नै जाने भन्ने प्रचार थियो । तर, अन्तिममा एमाले महासचिव ईश्वर पोखरेल रंगेली जाने कार्यक्रम बन्यो । उता पर्शुराम बस्नेतले कार्यक्रम सफल बनाउन व्यापक तयारी गरिसकेका थिए । युवा संघको आयोजना र मोर्चाको चेतावनीबीच सर्वसाधारण त्रसित थिए । कतिखेर के हुने हो भनेर सबै डराइरहेका थिए ।
-युवा संघ र मधेसी मोर्चाले आ–आफ्नो शक्ति प्रदर्शन गरेर गाउागाउाबाट कार्यकर्ता र सर्वसाधारण ओसारे । पाँच सय मिटरको दूरीमा प्रतिस्पर्धी सभा आयोजना भयो । युवा संघको कार्यक्रममा करिब एक हजार सहभागी थिए भने मोर्चाको सभामा गाउँगाउँबाट लाठी बोकेर आएका करिब पाँच सय कार्यकर्ता थिए ।
-चेतावनी दिदा पनि कार्यक्रम नरोकेको भन्दै मोर्चा कार्यकर्ता उत्तेजित हुँदै युवा संघको आमसभास्थलतर्फ बढेका थिए । प्रहरीले रोकेपछि झडप भयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको र त्यसपछि हवाईफायर गरेको थियो । हिंसात्मक घटनापछि युवा संघले कार्यक्रम केही क्षणमै सकेको थियो । तर, त्यतिन्जेलसम्म तीनजनाको ज्यान जाने गरी गोली चलिसकेको थियो ।
-गोली लागेर रंगेली–४ की द्रौपदी चौधरी (५८), बरडंगा–२ का महादेव ऋषिदेव र डायनिया–९ का शिवु माझीको मृत्यु भएको छ । मोरङका सहायक प्रजिअ देवी कट्टेलका अनुसार विक्रम सहनी, सत्यनारायण साह, मुना मण्डल, जगन्नाथ साह, सुबोध मण्डल, मनोजसिंह राई, दिलीप धाडेवाल, प्रकाश ढकाललगायत घाइते छन् ।
मधेसी र ओलीको सधैँ पौठेजोरी
ओलीले केसम्म भने ?
-२३ पुस ०७१ : ओलीले भने, ‘समथर जमिनजति मेरो भन्छन् मान्छेहरू । समथर त उता पनि छ । अब बिहार, युपीलाई पनि मधेस प्रदेशमा ल्याउने ?’ सोही दिन महतोले ओलीले आफूहरूलाई अपमान गरेको भन्दै भने, ‘हामीले भारतको भू–भागलाई पुनर्संरचना गर्न लागेको त होइन ? यस्तो आपत्तिजनक कुरा किन उठाउनुभयो ? यो हामीलाई ह्युमिलेसन गर्ने काम भयो ।’
-६ असोज ०७२ : अंगीकृत नागरिकताको विषयमा ओलीले भने, ‘नेपालमा आएर बस्न पाएकै छ, अंगीकृत नागरिकता पनि दिएकै छ, घरजग्गा किन पैसा कमाऊ भनेकै छ । सांसद, मन्त्री पनि बन्न दिएकै छ । अब त्यसले नागरिकता लिएको भोलिपल्टै नेपालको राष्ट्रपति नै बन्न पाउनुपर्ने, प्रधानमन्त्री र मुख्यमन्त्री नै बन्न पाउनुपर्ने किन ?’
-६ पुस ०७२ : एमालेको सुनसरी परिषद् उद्घाटनपछि ६ पुसमा ओलीले भने, ‘जोसुकै कराउँदै गरुन्, प्रदेश नम्बर १ बाट कुनै पनि ठाउँ तल–माथि हुने छैन । जनकपुरदेखि परतिरका मान्छेले सुनसरी, मोरङ र झापा मेरो भन्दै छन्, के भन्न खोजेका हुन् ? म बुझ्दिनँ ।’
दिल्लीमा महतोलाई ओलीको फोन
-२५ पुस ०७१ : एक वर्षअघि चार दलको बैठकमा आफूमाथि आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै ओलीले माफी माग्नुपर्ने महतोको भनाइ थियो । ‘मलाई अपमान गरेको भए केही फरक पर्ने थिएन, उहाँले बिहार र युपीसाग मधेसमा राख्ने भनेर मधेसी जनताको अपमान गर्नुभयो, त्यसैले मधेसी जनतासँग ओलीले माफी नमागेसम्म एमालेसँग पनि सम्बन्ध सुध्रिँदैन,’ महतोले भनेका थिए ।
-त्यसपछि ओली र महतो एउटै बैठकमा भेट भएनन् । महतो मधेस झरे, ओली प्रधानमन्त्री भए । विराटनगर–जोगबनीमा प्रहरीले कुटपिट गर्दा घाइते भएका राजेन्द्र महतो उच्च रक्तचापको समेत उपचार गर्न दिल्ली गएको वेला प्रधानमन्त्री ओलीले मधेसका मागप्रति आफूहरू अनुदार नरहेको भन्दै फोन गरेका थिए । महतोले ११ बँुदे माग सम्बोधन गरे मधेसी र ओलीको सम्बन्ध सुध्रिने जवाफ दिएका थिए । माग पूरा नभएसम्म काठमाडौंसमेत नआउने घोषणा गरेका महतो ओलीसाग सहमति भएपछि बालुवाटारसमेत पुगे । र, वार्तामा सहभागी भए । एक वर्ष १० दिनपछि ३ माघमा बालुवाटार पुगेका महतोलाई ओलीले सुरुमै ‘आपका सेहत अब कैसा हे ?’ भनेर सोधेका थिए ।
ओली र महतोको पछिल्लो सम्बन्ध
-ओलीसँग एक वर्षपछि बालुवाटारमा भएको भेटबारे विभिन्न सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै महतोले भने, ‘उहाँले धेरैबेर मेरै स्वास्थ्यबारे जानकारी लिनुभयो । त्यसपछि हामीबीच राजनीतिक विषयमा कुराकानी भयो । हिन्दी, मैथिली र नेपाली भाषामा कुरा भयो । हामीबीच धेरैपछि भेट भएको, खुलेरै कुरा भयो ।’
-महतोले भने, ‘उहाँले धेरै समय डिक्सनरी नै देखाएर मैले बोलेको अर्थ यो हो भनेर खर्चिनुभयो । प्रस्टीकरण दिन खोज्नुभयो ।’
नयाँ पत्रिका







