‘यस्तो थियो विपी र मातृकाको सम्वन्ध ‘

combined(2)माघ ७ । काठमाडौं, नेपाली कांग्रेसका संस्थापकमध्येका एक विश्वबन्धु थापालाई विश्वेश्वरप्रसाद कोइरालाले आफू सभापति हुँदा महामन्त्री बनाए । कोइराला परिवारसँग निकट सम्बन्ध रहेका थापा २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कु’ गर्दासम्म कांग्रेसमै क्रियाशील थिए । उनीसँग नयाँ पत्रिकाका मधुसुधन भट्टराईले दुई भाइ रहे पनि राजनीतिमा सौहार्दपूर्ण सम्बन्ध नरहेका मातृकाप्रसाद कोइराला र विश्वेश्वरप्रसाद कोइरालाको राजनीतिक सम्बन्धबारे सोधे । उनले सम्झिए :

जहानियाँ राणाशासन अन्त्यका लागि आन्दोलन सुरु गर्ने विश्वेश्वरप्रसाद कोइराला (बिपी) नै हो । प्रजातन्त्रविरोधी आन्दोलनको सुरुवातमा दाजु भए पनि बिपीसँग मातृकाबाबु थिएनन् ।२००३ साल माघ १२ र १३ गते कलकत्तामा भएको प्रथम अधिवेशनको केही समयअघि मात्रै मातृका कांग्रेसमा जोडिए । त्यसअघि मातृकाबाबु सुब्बामा जागिर खान्थे । कांग्रेसले विराटनगरस्थित जुटमिलमा गरेको आन्दोलनमा बिपीबाबुदेखि गिरिजाप्रसाद कोइरालासम्म जेल परे । उनीहरूलाई प्रहरीले थुनेपछि आन्दोलन जारी राख्न पाको मान्छे आवश्यक पर्‍यो । केशवप्रसाद कोइराला (डा. शेखर कोइरालाका बुबा)लाई पनि मान्ने मान्छे मातृका भएकाले उनी जागिर छाडेर कांग्रेसमा होमिए । त्यसपछि हाम्रो उनीसँग संगत बढ्यो ।

सत्याग्रह आन्दोलनमा पक्राउ परेका कांग्रेस नेताहरूलाई केही दिनमा प्रहरीले रिहा गर्‍यो । त्यसपछि कलकत्तामा भएको कांग्रेस अधिवेशनबाट राष्ट्रिय कांग्रेस बन्यो । त्यो अधिवेशनबाट नेता बनाउनुपर्ने बिपीलाई नै थियो, किनकि बिपीले नै कांग्रेस सुरु गरेका थिए । तर, बिपीले अभियान सुरु गरेपछि काठमाडौंबाट भाग्दैभाग्दै कलकत्ता पुगेका गणेशमान सिंहले अधिवेशनमा नयाँ प्रस्ताव राखे, ‘कलकत्तामै टंकप्रसाद शर्मा थुनिएका छन् । उनी प्रजातन्त्रवादी नेता पनि भएकाले राष्ट्रिय कांग्रेसको सभापति बनाउनुपर्छ ।’

बिपीले सिंहको प्रस्ताव स्वीकार गरे । भेलामा अनुपस्थित भए पनि आचार्य सभापति भए । अधिवेशनमार्फत हामीले कार्यवाहक सभापति बिपीलाई बनायाँ । त्यही अधिवेशनमा डिल्लीरमण रेग्मीले पनि सभापति बन्ने आशा गरेका थिए ।त्यसपछि सत्याग्रह आन्दोलन सुरु भयो । सत्याग्रह सुरु गर्न बिपी पनि उपस्थित भए । त्यो सत्याग्रह आन्दोलनमा लोग्नेमान्छे र स्वास्नीमान्छे सबैलाई पुलिसले पक्रियो । पक्रिएकामध्ये केहीलाई धनकुटा त केहीलाई काठमाडांैसम्म अड्डा सारियो ।

त्यसको केही समयपछि राष्ट्रिय कांग्रेसको मेल सुवर्णशमशेरको नेपाल प्रजातान्त्रिक कांग्रेससँग भयो । शमशेरको नेतृत्वमा कलकत्तामै खोलिएको प्रजातान्त्रिक कांग्रेसमा सूर्यप्रसाद आचार्य, महेन्द्रविक्रम शाहलगायत नेताहरू थिए । २००३ चैत २७ र २८ गते कांग्रेसका प्रतिनिधिको बैठकमा नेतृत्व परिवर्तन गर्नुपर्ने कुरा उठ्यो । दुई पार्टी केही समयअघि मेल भएको र सुवर्णले सभापति बन्न इच्छा नगरेकाले स्वाभाविक रूपमा सभापति बिपी हुनुपर्ने थियो ।

तर, पार्टीमा अहिलेजस्तै विभाजन सुरु भएको थियो । आफूलाई जान्ने–बुझ्ने ठान्ने भलादमीहरू आफ्नो अस्तित्व बचाइराख्न चाहन्थे । उनीहरूको चाहना मातृकालाई पार्टी सभापति बनाउने थियो । त्यसमा सूर्यप्रसाद आचार्य, महेन्द्रविक्रम शाह, भद्रकाली मिश्र थिए । उनीहरूले मातृकालाई उचाले । त्यसपछि मातृकाले इच्छा देखाएपछि उनलाई सभापति बनाइयो । त्यसपछि दुई भाइबीचको सद्भाव थप बलियो भयो ।

२००७ साल असोज १० र ११ गते भएको कांग्रेसको बैरगनिया सम्मेलनबाट कांग्रेसले सशस्त्र आन्दोलन गर्ने निर्णय गर्‍यो । सम्मेलनले मातृकाबाबुलाई सम्पूर्ण अधिकार दिएर क्रान्ति गर्नका लागि नायक तोक्यो । त्यहीबाटै मातृकाबाबु दुई पार्टी मिलेर कांग्रेस बनेपछिको यो अधिवेशनबाट सभापति भए । क्रान्तिको नेतृत्व गर्ने अधिकार पनि प्राप्त गरे । क्रान्तिको योजना गोप्य हुनुपर्ने भएकाले सम्पूर्ण अधिकार सभापतिलाई दिइएको थियो । सम्मेलनले पूर्वको इन्चार्ज बिपीलाई र पश्चिमको इन्चार्ज सुवर्णलाई बनायो । त्यसपछि मातृकाले आफ्नो कार्यसमिति पनि विस्तार गरे । क्रान्तिको काम सुरु भयो । यो नै सात सालको क्रान्तिको योजना थियो ।

त्यही सालको पुसमा क्रान्ति सफल भयो र दिल्ली सम्झौता भयो । कांग्रेसका नेताहरू दिल्लीमा नै रहेकाले सम्झौताका लागि सरकारका तर्फबाट मोहनशमशेरलगायत दिल्ली गएका थिए । दिल्ली सम्झौतामा मोहनशमशेरको नेतृत्वमा सरकार बनाउने तथा विश्वेश्वरप्रसाद कोइराला गृहमन्त्री हुँदै नेतृत्व लिएर पाँच मन्त्रीसहित सरकारमा सहभागी हुने उल्लेख भयो । मोहनले पनि आफूबाहेक पाँच मन्त्री बनाउने सहमति भयो ।

सोही सहमतिअनुरूप सरकार बन्यो । सरकारले काम गरिरहेको वेलामा केही समयपछि त्यसवेलामा गृहमन्त्री बिपीमाथि आक्रमण गरी हत्या गर्ने प्रयास भयो । त्यसपछि बिपीले मोहनशमशेरसँग बस्न नसक्ने निष्कर्ष निकाल्दै पार्टीमा प्रधानमन्त्री फेर्ने प्रस्ताव राखे । बिपीको प्रस्ताव सभापति मातृकाबाबुले स्वीकार गरे । त्यो जानकारी गराइएपछि राजा त्रिभुवनले पनि मोहनशमशेरलाई प्रधानमन्त्रीबाट हटाएर सरकारको नेतृत्व कांग्रेसलाई दिने विषयमा आफू सकारात्मक रहेको संकेत दिए । त्यसपछि जनताको छोरो प्रधानमन्त्री हुने पक्का भयो ।

तर, कांग्रेसबाट प्रधानमन्त्री बन्नेको नाम सभापति भएकाले मातृकाबाबुले दिनुपर्ने भयो । बिपीले प्रधानमन्त्री बन्न पाइन्छ भनेर पार्टीमा प्रधानमन्त्री फेर्ने प्रस्ताव गरेका थिए । पारित पनि भयो । तर, प्रधानमन्त्रीमा नाम सिफारिसका लागि भित्री कुरा के–के भए ? थाहा भएन । त्यसवेला नेपालका लागि भारतीय राजदूत सिपिएन सिन्हाले भारतीय प्रधानमन्त्री जवाहारलाल नेहरुको चाहना भन्दै राजदरबारमा ‘बिपीभन्दा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा भारतलाई ठीक हुने सन्देश प्रधानमन्त्रीले पठाएको ब्रिफिङ गरेछन् ।’ त्यसपछि राजाले मातृकाबाबुलाई बोलाएर ‘भारतका प्रधानमन्त्रीले बिपीलाई भन्दा मातृका कोइरालालाई प्रधानमन्त्री बनाउन चाहनुभएको छ’ भन्ने जानकारी राजदूत सिन्हाले सुनाएको बताएछन् । राजदूत सिन्हाले पनि मातृकाबाबुलाई भेटेर प्रधानमन्त्रीका लागि आफ्नो नाम सिफारिस गर्न आग्रह गरेछन् ।

कांग्रेसमा पनि मातृका प्रधानमन्त्री भएमा आफूहरूलाई फाइदा हुन्छ भन्दै लबिङ गर्नेहरू सलबलाइरहेका थिए । सभापतिको नाताले राजालाई भेटेका मातृकाले प्रधानमन्त्रीमा आफ्नो नाम सिफारिस गरेछन् । त्यसवेला कांग्रेसमा सभापति एक्लैले नाम सिफारिस गर्नसक्ने व्यवस्था थियो । जुन प्रावधानले मातृकालाई सजिलो भयो । मोहनशमशेर नेतृत्वको सरकारबाट दाइलाई पत्याएर राजीनामा गरेका बिपीलाई धोका दिने काम मातृकाले गरे । सरकार चलिरहेकै वेला गृहमन्त्री भएर आफूले नेतृत्व गरेकाले अब दाइले आफूलाई नै प्रधानमन्त्री बन्नका लागि सिफारिस गर्छन् भनेर राजीनामा दिएका बिपी राजाले मातृकालाई बोलाएर प्रधानमन्त्री बनाएपछि आश्चर्यचकित भए ।

मातृकाले प्रधानमन्त्री भएपछि बिपीका मान्छेलाई पनि मन्त्री बनाए । गणेशमान, सुवर्णलगायतलाई मन्त्री बनाए । सँगसँगै आफ्ना मान्छेलाई पनि मन्त्री बनाए । त्यसपछि बिपीले त्यो सरकारमा आफू नजाने बताए । बिपी सरकारमा नगएपछि मातृकालाई पहिलो धक्का लाग्यो । भाइ भए पनि त्यसवेला सर्वत्र बिपीकै भाउ थियो । नआए पनि भैगो भनेर प्रधानमन्त्रीका रूपमा उनले काम गर्न थाले ।

तर, विपी भने फुर्सदिला भए । पार्टीमा कार्यकारी सदस्य मात्रै थिए । त्यसपछि बिपीले मातृकालाई भेटेर ‘तपाईं प्रधानमन्त्री हुनुभयो, सभापति पद मलाई दिनुस्’ भन्ने प्रस्ताव राखे । आफूले पार्टीमा काम गर्ने बिपीको प्रस्ताव रहयो । तर, मातृकाले बिपीको प्रस्ताव अस्वीकार गरेपछि दुई भाइबीच तिक्तता बढ्दै गयो ।

त्यसपछि भारतीय समाजवादी नेता जयप्रकाश नारायणले दिल्लीमा बोलाएर दुई भाइबीच सम्झौता गराइदिए । उनको मध्यस्थतामा मातृकाले कांग्रेस सभापतिबाट राजीनामा दिने, बिपी सभापति हुने सम्झौता भयो । त्यसपछि मातृकाले सभापति छाडे, बिपी सभापति भए । मातृकाले पहिला नै बिपी सभापति भएपछि मलाई दु:ख दिन्छ भन्थे । नभन्दै बिपीले त्यस्तै गरे । बिपीले कार्यसमितिमा मातृकाका मान्छे राखेपछि आफ्नो बहुमत बनाए । कार्यसमिति विस्तार भएपछि बसेको कांग्रेस बैठकले सरकारले राम्रो काम नगरेको भन्दै राजीनामा गर्न निर्देशन दियो । पार्टीले फिर्ता बोलाएपछि मातृका फिर्ता आउनुपर्ने थियो । तर, मातृकाले ‘बिपीलाई मैले सभापति दिएको हुँ, यी कार्यवाहक सभापति हुन् । यसको निर्णय मैले मान्दिनँ’ भनिदिए ।

यस विषयमा पार्टीको महासमिति बैठकले निर्णय गर्नुपर्ने माग मातृकाले गरे । त्यसपछि विशालनगरमा महासमितिको बैठक बस्यो । महासमिति बैठक हुनुअगावै बिपीले सरकारमा भएका आफूपक्षीय मन्त्री सुवर्णशमसेर, गणेशमान सिंह र सूर्यप्रसाद आचार्यलाई राजीनामा गर्न लगाइसकेका थिए । महासमितिमा प्रधानमन्त्री रहेका मातृकाले हारे । उनले महासमितिको निर्णय पनि अस्वीकार गर्दै अधिवेशन आह्वान गर्न माग गरे । केही सिप नलागेपछि बिपीले पार्टीको विशेष अधिवेशन जनकपुरमा बोलाए । विशेष अधिवेशनमा नेतृत्व परिवर्तनका लागि निर्वाचन भयो । बिपीसँग मातृका पराजित भए ।

त्यसपछि भने पहिला राष्ट्रिय प्रजा पार्टी खोलेर मातृकाले प्रधानमन्त्रीबाट राजीनामा गरे । त्यहाँ कांग्रेसबाट मातृका पक्षका मान्छे गए पनि ठूलो पार्टी कांग्रेस नै थियो । तैपनि राजा त्रिभुवनले राष्ट्रिय प्रजा पार्टीको नेता भनेर पुन: मातृकालाई प्रधानमन्त्री बनाए ।
त्यसको केही समयपछि त्रिभुवन बिरामी परेपछि उपचारका लागि स्विजरल्याण्ड गए । कार्यवाहक राजाको जिम्मेवारी महेन्द्रलाई दिए । त्रिभुवनको स्वास्थ्य ठिक नभएकाले धेरै समयसम्म नेपाल आउन नसकेपछि महेन्द्र पनि बाबुलाई भेट्न स्विजरल्यान्ड गए । त्यहाँबाट पनि त्रिभुवन नफर्कीकनै महेन्द्र फर्किए । नेपाल आएपछि राजाको अख्तियारी लिएका महेन्द्रले मातृकालाई प्रधानमन्त्रीबाट निकालिदिए ।

त्यसबीचमा राजा त्रिभुवनको निधन भयो । महेन्द्र डा. केआई सिंह, टंकप्रसाद आचार्यलगायतलाई प्रधानमन्त्री बनाएर अघि बढिरहेका थिए । मातृकाको छुट्टै पार्टी भएर लामो समय चल्यो । यो बीचमा वीरगन्ज अधिवेशन आह्वान गरी बिपीले सुवर्णशमशेरलाई सभापति बनाउए । सभापति बनेपछि काठमाडौं आएका सुवर्णले राजासँग कुराकानी गरी निर्वाचन गर्ने सहमति गरे । त्यसका लागि चुनावी मन्त्रिपरिषद् बनाउने सहमति पनि राजा र सुवर्णबीच भयो । चुनावी मन्त्रिपरिषद्को अध्यक्ष सुवर्ण नै बने । मन्त्रिपरिषद् बनेपछि चुनाव हुने पक्का देखेर मातृकाले राष्ट्रिय प्रजा पार्टीलाई कांग्रेससंग एकीकरण गरे । मातृकाका सबै मान्छे हामीमाझ अर्थात् कांग्रेसमा आए ।

चुनावमा टिकट दिने वेला मातृकाका मान्छेलाई दिइयो, तर उनलाई दिइएन । बिपीले नचाहेर उनलाई टिकट दिइएन । बिपीले रामेछाप र मोरङमा चुनाव लडेर जिते । सुवर्ण गुल्मी र वीरगन्जका दुई स्थानमा चुनाव लडेर जिते । सूर्यप्रसाद दुई स्थानमा र गणेशमान सिंह एक स्थानमा चुनाव लडेर जिते । चुनावमा कांग्रेसको दुइतिहाइ आयो । बिपी प्रधानमन्त्री बने ।

बिपी पक्षका नेताहरू र बिपी स्वयं दुई–तीन स्थानमा चुनाव लड्ने, तर आफूलाई टिकट नदिने ठीक मानेका थिएनन् । त्यो उनले आफ्ना निकटका मानिससँग व्यक्त पनि गर्ने गर्थे । तर, बिपी प्रधानमन्त्री भएपछि सभापति पद पनि माग्न सकेनन् । बाहिर बसिरहे । कार्यसमितिमा भने थिए । माथिल्लो सभामा पनि बिपीले मातृकालाई ल्याएनन् । चुनाव नलडेका मान्छे नै खोज्न गाह्रो थियो । त्यसैले माथिल्लो सभामा ल्याएर कृष्णप्रसाद भट्टराईलाई नदिएर उनलाई दिएको भए पनि हुन्थ्यो सभामुख, तर बिपीले त्यसो गरेनन् । त्यसपछि उनले आफूलाई धोका दिएको सोचे र पञ्चायत आएपछि राजासँग लागे । त्यसपछि युएनको राजदूत भएर गए ।आजको नयाँ पत्रिकाबाट

– See more at: http://nepalpati.com/news/20890/bp-and-matrika#sthash.6QIjExHi.dpuf

सम्बन्धित शिर्षकहरु