राष्ट्रपतिले यसरी सुरु गरिन् पुनर्निर्माण महाअभियान

माघ ३  । काठमाडौं, विनाशकारी भूकम्प गएको नौ महिनापछि सरकारले शनिबारबाट ‘पुनर्निर्माण तथा नवनिर्माणक महाअभियान’को औपचारिक सुरुवात गरेको छ । १९औँ भूकम्प सुरक्षा दिवसको अवसर पारेर राष्ट्रपति विद्या भण्डारीबाट रानीपोखरीको पुनर्निर्माण शिलान्यास र बेलुन उडाएर महाअभियानको सुरुवात गरिएको हो । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, प्रमुख दलका शीर्ष नेता, मन्त्रीलगायतले महाअभियानमा ऐक्यबद्धता जनाए ।

प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री ओलीले पुनर्निर्माण महाअभियानमा एकताबद्ध भएर लाग्न सबै दल, सरकारी एवं गैरसरकारी निकायलाई आह्वान गरे । अभियानमा आइपर्ने अप्ठयारा निराकरण गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनले अन्तर्राष्ट्रिय समुदाय, सञ्चार क्षेत्र तथा अन्य सबै निकायलाई सहयोग गर्न आग्रह गरे । आठ लाख घरबारविहीन परिवारलाई घरबास बनाउने अभियानमा कसैले व्यक्तिगत लाभ लिने अवस्था आउन नदिने उनले बताए ।

प्रमुख प्रतिपक्षी दलको सहयोग
प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति सुशील कोइरालाले पारदर्शी तथा जिम्मेवारीका साथ पुनर्निर्माणको महाअभियान अगाडि बढाउन सरकारलाई आग्रह गरे । कोइरालाले पुनर्निर्माण महाअभियानलाई आफू र आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

पारदर्शी बनाउन एमाओवादी आग्रह
एमाओवादीका अध्यक्ष प्रचण्डले पुनर्निर्माणका लागि सबै दल तथा निकाय एवं अन्तर्राष्ट्रिय समुदाय एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए । विगतमा भूकम्पका लागि आएका राहतका सामानमा अनियमितता भएको खबर आउनु दु:खद् भएको उल्लेख गर्दै प्रचण्डले पुनर्निर्माणको महाअभियानलाई पूर्ण रूपमा पारदर्शी बनाएर कार्यान्वयन गर्नुपर्ने बताएका थिए । आफ्नो पार्टीले भूकम्पपछिको अघिल्लो सरकारलाई पनि प्रतिपक्ष नभनी सघाएको स्मरण गर्दै अब पनि प्रतिबद्ध भएर पुनर्निर्माण अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित शिर्षकहरु