यसरी जोडियो दुई टुक्रा भएको हात

hat-660x318पुस ३० । काठमाडौं, मेसिनरी औजारले काटेर दुई टुक्रा भएको हात बिर्तामोडको वी एन्ड सी अस्पतालका चिकित्सक जोड्न सफल भएका छन् ।

बुधबारे–१ का हर्कबहादुर सुब्बाको हात मेसिनले काटेर दुई टुक्रा भएको थियो । काठ मिलका मजदुर ५० वर्षीय सुब्बा २७ पुसमा देब्रे हात काटिएपछि बी एन्ड सी अस्पतालमा भर्ना भएका थिए । बिहान साढे ११ बजे अस्पताल भर्ना भएका सुब्बाको सात घन्टा लामो प्रयासमा शल्यक्रिया सफल भएको हो ।

अस्पतालका अर्थोपेडिक सर्जन डा। निराजन पराजुली नेतृत्वको चिकित्सकीय टोलीले सुब्बाको शल्यक्रिया गरेको थियो । ‘छालाको सानो भाग मात्रै काटिन बाँकी रहेको अवस्थामा उनी भर्ना भएका थिए,’ डा। पराजुलीले भने, ‘आधुनिक प्रविधि, उपकरण र लामो शल्यक्रियाको प्रयासले उनको हात जोड्न सफल भयौँ ।’ आधुनिक किसिमको माइक्रोस्कोपको सहायताले काटिएका सबै नसालाई जोड्न चिकित्सक सफल भएका छन् । माइक्रोस्कोप अस्पतालले एक साताअघि तीन करोडमा खरिद गरी ल्याएको थियो ।

चिकित्सकका अनुसार राजधानीबाहिर बी एन्ड सीमा पहिलोपटक यस्तो जटिल प्रकृतिको शल्यक्रिया सम्भव भएको हो । हाल सुब्बाको स्वास्थ्य अवस्था सामान्य छ । ‘शल्यक्रियापछि नसामा रगत प्रवाहको अवस्था राम्रो देखिएकाले हामी निकै आशावादी भएका छौँ,’ हस्पिटलका मेडिकल सुपरिटेन्डेन्ट डा। उमेश शर्माले भने । नयाँ पत्रिका।

सम्बन्धित शिर्षकहरु