भूकम्पका कारण दत्तात्रय मेला प्रभावित

dattattraya1पुस ३० । भक्तपुर, भक्तपुरको दत्तात्रयमा पुस महिनामा लाग्ने एक महिने मेला सम्पन्न भएको छ ।

पुस महिनाभरि नै दत्तात्रयमा मेला लाग्ने भएपछि पुसको प्रत्येक बुधबार भने विशेष मेला लाग्नेमा यसवर्ष भूकम्पका कारण मेला प्रभावित भएको छ ।

ब्रह्मा, विष्णु र महेश्वरका रुपमा पुजिँदै आएको यस मन्दिरमा महाभूकम्पका कारण यसवर्ष दर्शनार्थी नआउँदा मेला प्रभावित भएको स्थानीयवासी मोहन प्रजापतिले बताए ।

पुस महिनामा दत्तात्रय मन्दिरमा तीन किमीसम्म लामो लाइन हुने गरेकामा यसवर्ष भने नगन्यरुपमा मात्रै दर्शनार्थी आएको उनले बताए ।

मन्दिरमा एक महिना लाग्ने मेला व्यवस्थापन गर्न समितिले लाइनमै टोकन बाँड्ने, स्वास्थ्य शिविर गर्ने, पूजाको सहज व्यवस्थापन गर्ने, स्वयम्सेवक परिचालन गर्दै आएकामा यसवर्ष केही गर्नु नपरेको दत्तात्रयका शिवराज श्रेष्ठले बताए ।

यसवर्ष भूकम्पले क्षति प¥याएका घर र भूकम्पको त्रासका कारण लामो लाइन बसेर पूजा गर्नुपर्ने गरी दर्शनार्थी नआएका बताउँदै उहाँले दर्शनार्थी नआउँदा मेलाको रौनक हराएको बताए ।

भक्तपुरका नजिक क्षेत्रबाट मात्रै यसवर्ष मेला भर्न दर्शनार्थी आएका थिए । विगतका वर्षमा घन्टौँ लाइन बस्नुपर्ने भए पनि यसवर्ष आउनेबित्तिकै पूजा एवम् दर्शन गर्न पाएको रमिला बस्नेतले बताए।

बुधबार दत्तात्रय मन्दिरमा भेटिएकी भक्तपुर ताथलीकी बस्नेतले भूकम्पको त्रासले यसवर्ष मन्दिर आउने कम भएको बताइन्।

सम्बन्धित शिर्षकहरु