छानो चम्किँदा मन कुँडिन्छ

barpakपुस २८ । काठमाडौं, नयाँ जस्ताले बारेको र छाएको घर चिटिक्कै देखिन्छ। यो घरमा बस्ने तीन जना छन्। ५० वर्षीय चेतबहादुर गुरुङ, श्रीमती र १३ वर्षीया छोरी। नयाँ घरको टिन टल्किए पनि चेतबहादुरको मन र अनुहार उज्यालो छैन। कुरा गर्दै जाँदा उनी डाको छाडेर रुन बेर मान्दैनन्। भूकम्पले गहिरो चोट दिएको छ उनलाई।

वैशाख १२ को भूकम्पको केन्द्र विन्दु हो गोरखा जिल्लाको बारपाक। बारपाक गाविसको वडा नं. ८ कोट टोलमा छ उनको बसोबास। उनको पुर्ख्यौली थलो नै त्यही हो। घरको गारो लगाउने काम गर्दै आएका चेतबहादुरले २०५७ सालमा पाँच लाख रुपैयाँ खर्च गरेर ढुंगाकै गारो र ढुंगा (स्लेट) को छानो राखेर घर बनाएका थिए।

बारपाक गाउँको पहिचान बनेको यस्तो घर अहिले सिंगो बारपाकमा भेटिँदैन। वैशाख १२ को भूकम्पले सबै ध्वस्त बनायो। चेतबहादुरको ढुंगैढुंगाको घर पनि माटोमा मिसियो। सो घटनामा उनले कान्छी छोरी पनि गुमाए। भूकम्पले उनकी आमाको पनि ज्यान लियो। भाइबुहारी र भाइकी छोरी पनि भूकम्पमा परेर बिते।

चारचार जना आफन्त गुमाएका चेतबहादुर कुरा गर्दा बर्बर आँसु झारिहाल्छन्। वैशाख १२ गते उनी आमा मलमतिको घरमा धन्सार बनाउने काम गर्दै थिए। खेतालालाई मिठो खाजा खुवाउने भन्दै मलमति भान्सामा गएर कान्छी बुहारी राममायासँगै सेलरोटी बनाउँदै थिइन्। चेतबहादुरकी छ वर्षीया छोरी पुष्का र भाइकी डेढ वर्षकी छोरी प्रकृति पिँढीमा खेल्दै थिए।

छोरीहरु झगडा गरेजस्तो ठानेर चेतबहादुर मिलेर खेल है भन्दै थिए। अचानक स्वार्र आवाज आएजस्तो भयो। के भएको हो, उनले मेसो पाउनै सकेनन्। उनी भुइँमा लडे। उनको घर पहरो जस्तोमा छ। उनी तलतल बग्न थाले। पाखामा एउटा रुख थियो। त्यसैमा समाउन भ्याए। जसले गर्दा धरै तल झर्नबाट रोकिए। उनको अगाडि एउटा ठूलो ढुंगो थियो। त्यो हल्लिरहेको थियो।

ढुंगो हल्लिएपछि उनले भूकम्प आएछ भन्ने चाल पाए। ढुंगो गुड्केर थिच्छ कि भन्ने त्रास बढेर गयो। घरतिर आँखा लगाए, धुलो र धुवाँको मुस्लो निस्किएको थियो। रोएको कराएको मात्रै सुनियो। ‘सुरुमा हल्लाएको केही गरेको थाहा नै भएन। एकैचोटि झ्वाट्टै केके भयोभयो,’ चेतबहादुरले वैशाख १२ को क्षण सम्भि्कए।

कम्पन कम भएपछि उनी घरतर्फ आए। एकदुई पटक आमा कराएको सुने। पिँढी भत्केको देखे। आफ्नी कान्छी छोरी र भाइकी छोरीको लास भेटियो। घरभित्रबाट बुहारी र आमाको लास सेनाले छ दिनपछि निकाल्यो। सेलरोटी पकाउँदै गरेको तेलबाट आगो सल्केर धेरै कुरा जलेको थियो।

परिवारका अरु सदस्य पनि घाइते भए। घरको नाममा ढुंगाको थुप्रा मात्रै। त्यसैले घरदेखि अलि पर बारीमा उनीहरुले छ महिना बिताए। जाडो नजिक आउन लागेपछि त्यस्सै बसे आपत हुन्छ भनेर उनले भत्केको घरको ढुंगा हटाउन सुरु गरे। श्रीमतीले सघाइन्। ऋण खोजेर जस्ता किने। अहिलेको घर दुई लाख रुपैयाँ हाराहारीमा तयार भएको हो।

सरकारले अनुदान दिन्छ र घर बनाउँला भनेर बसेको भए यो जाडोमा निकै दुःख पाइने रहेछ भन्छन् उनी। घर बनाए पनि सरकारले दिने भनेको दुई लाख रुपैयाँ पाउने आश छ उनको। तर घर बनाइसकेकालाई अनुदान दिइँदैन भन्ने चर्चा गाउँमा व्यापक छ। यो सुन्दा उनी निराश पनि हुन्छन्। मनमा पीडा बढेर आउँछ।

‘ऋण खोजेर बनाएको हो। सरकारले दिए ऋण नै तिर्ने हो। दिँदैन भने कति बिलौना गर्नु! चारचार जना आफन्त बितेकै हुन्। घर भत्केकै हो। बेलैमा नबनाएको भए अहिले जाडोमा पाउनु दुःख पाइँदो रहेछ। जाडो छल्न खोज्दा मैले पाप गरेँ र?’ चेतबहादुरले भने। नागरिक दैनिक

सम्बन्धित शिर्षकहरु