पुस २६। परासी, नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले देशको अहिलेको जटिल समस्या सबै दल एकजुट भई समाधान गर्नुपर्ने विचार राखेका छन् ।
उनले अहिले तराईमा जारी आन्दोलनप्रति सङ्केत गर्दै आन्दोलनरत मधेसवादी दलसहित सबै साना ठूला दलको सहमति र सहकार्यमा देशलाई निकास दिनुपर्ने विचार राखे ।
नेपाल प्रेस युनियन नवलपरासी शाखाले शनिबार साँझ रामनगर, भूमहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खड्काले यस्तो विचार राखेका हुन् ।
यसअगावै आठ पटकसम्म विभिन्न मन्त्रालयको जिम्मेवारी लिइसकेका खड्काले आगामी दिनमा मन्त्री पदमा नबस्ने उद्घोष गरे।
लाभका सबै पद नलिने उद्घोष गर्नुभएको हो भन्ने पत्रकारहरुको जिज्ञासामा काँग्रेस नेता खड्काले अन्य पदको विषयमा कुनै कुरा नबोली मन्त्री पद नलिने उद्घोष गरेको जानकारी दिए ।
नेता खड्काले पार्टी भागबन्डाले धरासायी बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै पार्टीमा पुस्ता हस्तान्तरण अहिलेको आवश्यकता हो भने।







